काठमाडौ । डाक्टर अलविरा खान नेपाली काँग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा उम्मेदबार बन्नुभएको छ ।
२४ वर्षीया डा. खान मुस्लिम समुदायबाट प्रदेश सदस्यका लागि उम्मेदवार बन्नुभएको हो ।
मुस्लिम महिलातर्फको कोटाबाट उम्मेदवार बन्नुभएकी खान प्रतिनिधिसँग भोट मागिरहनुभएको थियो ।
शनिबार उहाँले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहनुभएको छ ।
उहाँले काँग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशील सदस्यता लिएको बताउनुभयो । मैले १८ वर्षको उमेरमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी हुँ, डा.खानले भन्नुभयो,“अहिले २४ वर्षकी भएँ, प्रदेश सदस्य भएर जिम्मेवारी निर्वाह गर्न सक्छु ।”
बाबु अङ्कित मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उहाँको भनाइ छ । अङ्कित ३० वर्षदेखि काँग्रेस क्रियाशील सदस्य हुनुहुन्छ । पूर्वक्षेत्रीय सभापति अङ्कित हाल महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
चिकित्सक पेशा अँगालेकी हुनाले आफू बिरामीको उपचारमै केन्द्रित हुने उहाँको भनाई छ । चिकित्सा पेशासंगै राजनीतिलाई पनि अगाडि बढाउने उहाँले बताउनुभयो । उहाँ संस्थापन इतर समूहको प्यानलबाट प्रदेश सदस्यमा उम्मेदवार बन्नुभएको हो ।
मुस्लिम समुदायका महिला राजनीतिमा आउन नसकिरहेको अवस्थामा उनले अहिले भने अवस्था फरक रहेको बताउनुभयो ।
’विगतमा मुस्लिम समुदायमा राजनीतिमा लाग्न हुँदैन भन्ने भावना थियो, घरबाट निस्कन पाइँदैन थियो, तर अहिले अवस्था फेरिएको छ, मैले राजनीतिमा लाग्दा परिवारका सबै सदस्यको पूर्ण साथ पाएकी छु,’उहाँले भन्नुभयो ।
कपिलवस्तु–३ को प्रदेश सभा (ख) बाट प्रतिनिधि भएर डा.खान लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बन्नुभएको हो । आफूलाई जिताउन परिवारका सबै सदस्य प्रचारमा लागेको उहाँले बताउनुभयो ।