• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

    बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

    हेल्दीखबर
    मंगलबार, कात्तिक २३ २०७८
    हेल्दीखबर
    मंगलबार, कात्तिक २३ २०७८
    बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

    काठमाडौँ। बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गोरखापत्रसँग कुरा गर्दै एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
    स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको बताउनुभयो । ‘‘अब फाइजर र मोर्डना खोप छिट्टै आउनेछ,’’ मन्त्री खतिवडाले भन्नुभयो, “मन्त्रिपरिषद्ले खोप ल्याउने निर्णय गरेसँगै खोप आइहाल्छ ।”

    images

    सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ । मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिकालाई लगाउन सकिन्छ । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ । कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध उक्त फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजनिका, जोन्सन एन्ड जोन्सनलगायतका खोप आएका छन् । ती खोपहरू दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

    यसअघि अमेरिकाबाट कोभिडविरुद्धको एक लाख मात्रा खोप नेपाल आइसकेको छ । यसअघि एक लाख ६२० मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल आएको हो ।
    सेनालाई तीन लाख खोप
    यसैगरी, नेपाली सेनालाई चीनको जनमुक्ति सेनाले तीन लाख डोज कोभिड–१९ को खोप प्रदान गरेको छ । प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले सोमबार उक्त सहयोगप्रदान गर्नुभएको हो ।
    त्यस अवसरमा सहयोगस्वरूप उपलब्ध १० थान भेन्टिलेटर र १०० थान अक्सिजनसमेत सेनालाई उपलब्ध गराइएको छ । प्रधानसेनापति शर्माले सहयोगका लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिनुभएको छ ।

    उक्त खोप सैनिक कर्मचारी तथा सेनाको प्राथमिकतामा रहेका हिताधिकारी परिवारलाई प्रदान गरिने जनाइएको छ । कोभिड–१९ महामारीविरुद्धको लडाइँमा सेनालाई थप प्रभावकारी रूपमा परिचालन गर्न र जनताको सेवामा लाग्न सक्षम हुने अपेक्षा गरिएको छ ।
    नेपाल–चीनबीच रहेको सम्बन्ध थप बलियो हुने विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
    गोरखापत्रमा सरोज ढुङ्गेलले लेख्नुभएको समाचार 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार