काठमाडौं । दुईदिन देखि परेको वर्षाका कारण आएको बाढीपहिरोमा छ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी र पहिरोबाट देशका १९ जिल्ला प्रभावित भएका छन् । यस्तै बाढी र पहिरोमा पाँच जना वेपत्ता पाँच सय घरधुरीमा क्षति भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले मंगलबार कालिकोटको महाबै गाउँपालिकामा आएको पहिरोमा परी विष्णुलाल अधिकारीको घर पुरिएको छ । अन्दाजी १८ वर्षकी छोरी स्मृति अधिकारीको मृत्यु भएको छ ।
यसैगरी, डडेलधुरामा बाढीसँगसँगै आएको पहिरोमा परि घाइते हुनुभएको गन्यापधुरा गाउँपालिका– १, भात्काडाका ३२ वर्षिया विष्णु अवस्थीको उपचारको क्रममा ज्यान गएको छ ।
डोटीको सायल गाउपालिका – ६, मेल्लेखमा आएको पहिरोमा लिबहादुर पुन्जडाको घर भत्किदा निजको १४ वर्षिय छोरा सागर पुन्जडा र ११ वर्षको अर्का छोरा आषिश पुन्जडा गरी दुई जनाको ज्यान गएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका – १३ नागेश्वर मार्गमा आएको पहिरोमा विशाल राईको घर पुरिदा राईका आठ वर्षिय छोरी र चार वर्षिय छोरा दुवैको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
मंगलबार आएको बाढी तथा पहिरोमा पाँच जना घाइते हुनुभएको छ ।