• सोमबार, २ कात्तिक २०८३
  • images

    औषधि व्यवस्था विभाग राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध

    औषधि व्यवस्था विभाग राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध

    बिहीबार , असोज २९ २०८३
    बिहीबार , असोज २९ २०८३
    औषधि व्यवस्था विभाग राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध

    काठमाडौं, २९ असोज । औषधिको आयात तथा निर्यातसँग सम्बन्धित भन्सार प्रक्रिया सहज, छिटो र पारदर्शी बनाउने उद्देश्यले औषधि व्यवस्था विभाग राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध भएको छ। यससँगै विभागबाट जारी हुने भन्सारसम्बन्धी आवश्यक कागजात अनलाइन प्रणालीमार्फत आदानप्रदान हुने भएका छन्।

    भन्सार विभागले सञ्चालन गरेको राष्ट्रिय एकद्वार प्रणालीमा औषधि व्यवस्था विभागलाई आबद्ध गराउने कार्यको बिहीबार आयोजित कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले संयुक्त रूपमा शुभारम्भ गर्नुभयो।

    images

    कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भट्टराईले विभागबाट प्रदान गरिने भन्सार जाँचपाससँग सम्बन्धित सेवालाई अनलाइन माध्यममा लैजान राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध भएको जानकारी दिनुभयो। उहाँले जनशक्तिको सीमितता रहेको अवस्थामा प्रविधिमा आधारित प्रणालीले सेवा प्रवाहलाई सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    उहाँका अनुसार यसअघि औषधिसँग सम्बन्धित भन्सार कागजातको प्रक्रिया कागजी माध्यमबाट हुँदै आएको थियो। अब अनुमति पत्र, छुट पत्र, निकासी पत्र, पैठारी पत्र तथा प्रमाणपत्रलगायतका कागजात राष्ट्रिय एकद्वार प्रणालीमार्फत अनलाइनमा उपलब्ध गराइनेछ।

    “यसअघि हामीले औषधिसँग सम्बन्धित सबै काम कागजी रूपमा गर्दै आएका थियौँ। अब राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध भएसँगै ती काम अनलाइनमार्फत हुनेछन्,” महानिर्देशक भट्टराईले भन्नुभयो, “यसबाट सेवाग्राहीले छिटो र सहज रूपमा सेवा प्राप्त गर्न सक्नेछन्।”

    उहाँले औषधिसँग सम्बन्धित विभिन्न क्षेत्रलाई समेत प्रणालीमा समेटेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको बताउनुभयो।

    भन्सार विभागका महानिर्देशक भुसालले राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउन लामो समयदेखि प्रयास हुँदै आएको र औषधि व्यवस्था विभागको आबद्धतासँगै सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गर्नुभयो।

    “भन्सार प्रणालीमा राष्ट्रिय एकद्वार प्रणाली ठूलो फड्को हो। वस्तुको आयात तथा निर्यात गर्दा आवश्यक कागजात अब अनलाइनमार्फत हेर्न सकिने व्यवस्था भएको छ,” उहाँले भन्नुभयो, “यसबाट काम छिटो र सहज हुनेछ।”

    महानिर्देशक भुसालका अनुसार राष्ट्रिय एकद्वार प्रणालीमा ४८ सरकारी निकायलाई आबद्ध गराउने लक्ष्य राखिएको छ। तर, हालसम्म १५ वटा सरकारी निकाय मात्र यस प्रणालीमा आबद्ध भएका छन्।

    कार्यक्रममा भन्सार विभागका निर्देशक रहिम अन्सारीले विभिन्न सरकारी निकायबाट जारी हुने भन्सारसम्बन्धी कागजात राष्ट्रिय एकद्वार प्रणालीमार्फत उपलब्ध हुने जानकारी दिनुभयो। प्रणालीमा प्राप्त कागजातको जाँच तथा प्रमाणीकरणपछि सोही आधारमा भन्सारबाट आयात–निर्यातसम्बन्धी प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो।

    राष्ट्रिय एकद्वार प्रणालीको प्रयोगले कागजातको आदानप्रदानमा लाग्ने समय घटाउनुका साथै सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार