काठमाडौं, २९ असोज । औषधि व्यवस्था विभागले प्रतिरक्षा प्रणाली दबाउने औषधि (इम्युनोसप्रेसेन्ट) को बजारमा उपलब्ध मौज्दातको बिक्री–वितरण तथा प्रयोगमा रोक नलगाइएको स्पष्ट पारेको छ। विभागले ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा लगाइएको रोकलाई बजारमा उपलब्ध औषधिको बिक्री बन्द गरिएको अर्थमा नबुझ्न सर्वसाधारण तथा बिरामीलाई आग्रह गरेको छ।
विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत निर्धारित मापदण्ड पूरा नगरेका वा तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी आवश्यक कागजात पेस नगरेका ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको जनाएको हो।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागको निर्णय नयाँ उत्पादन तथा आयातसँग सम्बन्धित छ। बजारमा यसअघि नै उपलब्ध औषधिको बिक्री–वितरणमा रोक लगाइएको नभई औषधिको गुणस्तर र सुरक्षासम्बन्धी मापदण्ड पूरा गराउने उद्देश्यले नयाँ उत्पादन तथा आयातमा नियमन गरिएको हो।
उहाँका अनुसार औषधिको गुणस्तर र सुरक्षासँगै एक औषधिमा प्रयोग भएको पदार्थ अर्को औषधिमा मिसिन सक्ने जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको हो। यसका लागि उत्पादक तथा आयातकर्ताले निर्धारित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
विभागका अनुसार अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घकालीन रोग भएका बिरामीले नियमित सेवन गर्नुपर्ने औषधिको आपूर्तिमा अभाव हुन नदिन आवश्यक समन्वय भइरहेको छ। जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक रहेका उद्योग तथा आयातकर्तालाई आपूर्ति व्यवस्थापनका लागि बढीमा तीन महिनासम्म उत्पादन तथा आयात गर्न अनुमति दिई प्रमाणपत्र नवीकरण गरिएको विभागले जनाएको छ।
औषधिको उत्पादन तथा आयातसम्बन्धी व्यवस्थामा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक मापदण्डअनुसार जोखिम व्यवस्थापन, सफाइ प्रमाणीकरण, छुट्टै हावा आवतजावत प्रणाली तथा स्वास्थ्यमा आधारित जोखिम सीमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। जोखिमको प्रकृतिअनुसार सम्बन्धित औषधि छुट्टै उत्पादन सुविधामा उत्पादन गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको विभागले जनाएको छ।
यस विषयमा विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि आयातकर्ता संघ तथा नेपाल औषधि व्यवसायी संघसँग समन्वय गरी औषधिको सहज उपलब्धता कायम राख्ने प्रयास गरिरहेको छ।
विभागले यससम्बन्धी मापदण्ड र आवश्यक व्यवस्थाबारे २०८३ वैशाख १५ र जेठ २१ गते सार्वजनिक सूचना जारी गरेको थियो। सोही व्यवस्थाअनुसार मापदण्ड पूरा नगरेका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको विभागले जनाएको छ।
विभागले जारी गरेको सूचनाविपरीत नयाँ उत्पादन वा आयात गरिएका औषधिको प्रयोगबाट प्रतिकूल असर देखिएमा त्यसको जिम्मेवारी सम्बन्धित औषधि उपलब्ध गराउने वा प्रयोग गराउने निकाय अथवा व्यक्तिले लिनुपर्ने चेतावनीसमेत दिएको छ।
विभागले बिरामीलाई चिकित्सकको परामर्शअनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गरेको छ। औषधिको अभाव हुने वा बजारमा उपलब्ध औषधिको बिक्री–वितरण नै बन्द गरिएको भन्ने भ्रामक सूचनाका आधारमा औषधि सेवन गर्न नछाड्न पनि विभागले अनुरोध गरेको छ।
यस विषयमा थप जानकारी लिन वा गुनासो गर्न विभागका सूचना अधिकारी निनु श्रेष्ठलाई ९७४८३००१०९ वा ९८५१४३१३३३ तथा गुनासो सुन्ने अधिकारी शम्भु शाहलाई ९८१५०५२७७१ वा ९८५१४३०२२२ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।