• बुधबार, ४ कात्तिक २०८३
  • images

    अब घरबाटै विशेषज्ञ चिकित्सकको परामर्श

    अब घरबाटै विशेषज्ञ चिकित्सकको परामर्श

    कर्णालीमा टेलिमेडिसिन सेवा सुरु

    बिहीबार , असोज १५ २०८३
    बिहीबार , असोज १५ २०८३
    अब घरबाटै विशेषज्ञ चिकित्सकको परामर्श

    काठमाडौँ, १५ असोज । दुर्गम क्षेत्रका नागरिकले अब घरमै बसेर विशेषज्ञ चिकित्सकको परामर्श लिन सक्ने भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएपछि विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई घरबाटै चिकित्सकीय परामर्श लिन सहज हुने भएको हो ।

    प्रतिष्ठानले उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने तथा दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको सेवा सहज रूपमा उपलब्ध हुन नसक्ने अवस्थालाई ध्यानमा राखेर टेलिमेडिसिन सेवा सुरु गरेको जनाएको छ ।

    images

    सेवाको उद्घाटन गर्दै प्रतिष्ठानका रेक्टर प्राडा धर्मभक्त सुवेदीले स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने बिरामीले घरबाटै विशेषज्ञ चिकित्सकको परामर्श लिन सक्ने व्यवस्था सुरु भएको बताउनुभयो । दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवासँग जोड्न टेलिमेडिसिनले महत्वपूर्ण सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

    प्रतिष्ठानका निर्देशक डा. विनम्र विष्टले टेलिमेडिसिन सेवा सुरु भएसँगै प्रतिष्ठानमा उपचारका लागि आउने तथा अन्य स्वास्थ्य संस्थाबाट प्रेषण भई आउने बिरामीलाई विशेषज्ञ सेवा लिन थप सहज हुने बताउनुभयो ।

    उहाँका अनुसार विशेषज्ञ सेवा उपलब्ध हुन कठिन रहेका क्षेत्रका बिरामीलाई आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकीय परामर्श उपलब्ध गराउन टेलिमेडिसिन उपयोगी हुने छ । यसबाट बिरामीलाई विशेषज्ञ चिकित्सकको परामर्शका लागि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता समेत कम हुने अपेक्षा गरिएको छ ।

    प्रतिष्ठानका अनुसार सेवाको सुरुआतकै दिन जाजरकोटका एक बिरामीलाई टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र छाया नेपालको संयुक्त पहलमा सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ । टेलिमेडिसिन सेवामार्फत कर्णालीका दुर्गम तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा विशेषज्ञ चिकित्सकीय परामर्श विस्तार गर्ने लक्ष्य प्रतिष्ठानको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार