• मंगलबार, ३ कात्तिक २०८३
  • images

    सुत्केरी भएको २४ घण्टामै दुवै मिर्गौला फेल, उपचारमा लापरवाहीको आरोप

    सुत्केरी भएको २४ घण्टामै दुवै मिर्गौला फेल, उपचारमा लापरवाहीको आरोप

    बिहीबार , असोज १५ २०८३
    बिहीबार , असोज १५ २०८३
    सुत्केरी भएको २४ घण्टामै दुवै मिर्गौला फेल, उपचारमा लापरवाहीको आरोप

    वीरगञ्ज १५ असोज । रौतहटकी २७ वर्षीया गुञ्जा सिंहको सुत्केरी भएको २४ घण्टामै दुवै मिर्गौलाले काम गर्न छाडेपछि वीरगञ्जस्थित सूर्य हस्पिटल एन्ड आईभिएफ सेन्टरमाथि उपचारमा गम्भीर लापरवाही गरेको आरोप लागेको छ।

    गत असोज ८ गते सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुभएकी सिंहलाई चिकित्सकले गर्भमा रहेको शिशुको रगत कम देखिएको भन्दै अस्पताल भर्ना गरेको परिवारले जनाएको छ। परिवारका अनुसार त्यसपछि उहाँको अवस्था जटिल बन्दै गएपछि आकस्मिक रूपमा शल्यक्रिया गरिएको थियो।

    images

    परिवारका अनुसार शिराबाट औषधी तथा झोल पदार्थ दिन खोज्दा समस्या भएपछि नली खोल्ने प्रयास गरिएको थियो। त्यसपछि तत्कालै इन्जेक्सनमार्फत औषधी दिइएको र त्यसलगत्तै उहाँको अवस्था थप गम्भीर बनेको परिवारको दाबी छ। शिशुको मुटुको धड्कनसमेत कम भएपछि चिकित्सकले शल्यक्रिया गर्नुभएको परिवारले जनाएको छ।

    परिवारले शल्यक्रियाअघि आवश्यक रगत परीक्षण तथा रगतको पर्याप्त व्यवस्थापन नभएको आरोप लगाएको छ। दुईपटक शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएको र शल्यक्रियापछि उनको लुगा रगतले भिजेको अवस्थामा रहेको परिवारको दाबी छ।

    शल्यक्रियापछि ‘एमजीएसओ ४’ नामक औषधी प्रयोग गरिएको र त्यसपछि मिर्गौलामा समस्या देखिएको परिवारको आरोप छ। असोज ८ गते शिशु जन्माएकी सिंहको भोलिपल्ट गरिएको परीक्षणमा दुवै मिर्गौलाले काम गर्न छाडेको पाइएको परिवारले जनाएको छ।

    ‘बच्चा जन्माएको २४ घण्टामै दुवै मिर्गौला फेल भएको छ। उपचारका क्रममा आवश्यक प्रक्रिया र सावधानी अपनाइएको नदेखिएकाले चिकित्सकीय लापरवाही भएको हाम्रो आशंका छ,’ परिवारका सदस्यले भन्नुभयो।

    अवस्था गम्भीर भएपछि सिंहलाई वीरगञ्जबाट चितवन मेडिकल कलेज लगिएको थियो। त्यहाँ आवश्यक उपचारका लागि भेन्टिलेटरको व्यवस्था नभएपछि काठमाडौँ ल्याउने तयारी गरिएको भए पनि निरन्तर वर्षाका कारण हेलिकोप्टर उपलब्ध हुन नसकेको परिवारले जनाएको छ। हाल उहाँको मेडिसिटी अस्पतालमा डायलसिस भइरहेको छ।

    परिवारले सूर्य अस्पतालमा शल्यक्रिया तथा औषधी प्रयोगका क्रममा उपचारसम्बन्धी आवश्यक प्रोटोकल पालना नभएको आरोप लगाएको छ। घटनाबारे छानबिन गरी दोषी देखिए चिकित्सकमाथि कारबाही गर्नुपर्ने माग परिवारले गरेको छ।

    परिवारले घटनाबारे नेपाल मेडिकल काउन्सिलमा उजुरी दिने तयारीसमेत गरेको जनाएको छ।

    यसैबीच, घटनासँग सम्बन्धित चिकित्सकले पत्रकारलाई अपशब्द प्रयोग गर्दै धम्क्याएको भनिएको एउटा अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त अडियोको सत्यता र सन्दर्भ भने स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

    घटनाबारे अस्पतालको आधिकारिक धारणा लिन सम्पर्क गर्दा अस्पतालका एक कर्मचारीले फोन उठाउनुभएको थियो। उहाँले सामाजिक सञ्जालमा सार्वजनिक भएको सम्बन्धित सामग्री पाँच वर्षअघिको भएको दाबी गर्नुभयो। सम्बन्धित चिकित्सकसँग सम्पर्क गराइदिन आग्रह गर्दा उहाँले आवश्यक जानकारी लिएर जवाफ दिने बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार