काठमाडौँ, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन दशौँ तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध दुई करोड तीन लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सार्वजनिक सेवामा रहँदा सापकोटाले पदीय हैसियतको दुरुपयोग गरी वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गर्नुभएको तथा आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गर्नुभएको अनुसन्धानबाट देखिएको छ।
आयोगले सापकोटाको सार्वजनिक सेवामा नियुक्ति भएको मिति २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरेको थियो। सो अवधिमा सापकोटा, उहाँका एकाघर परिवारका सदस्य तथा सगोलमा रहेका व्यक्तिको वैधानिक आय, खर्च र लगानीको तुलनात्मक विश्लेषण गरिएको आयोगले जनाएको छ।
अनुसन्धानबाट उक्त अवधिमा सापकोटा तथा उहाँको परिवारको वैधानिक आय तीन करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा रहेको देखिएको आयोगले जनाएको छ। वैधानिक आयअन्तर्गत तलब तथा पारिश्रमिक, बैठक तथा प्रोत्साहन भत्ता, दैनिक भ्रमण भत्ता, सवारीसाधन बिक्री, घरबहाल, जग्गा बिक्री, ऋण तथा कर्जा, बैंक ब्याज, सेयर बिक्री, कृषि तथा छात्रवृत्तिबाट प्राप्त रकम र बिरामी जाँचबाट प्राप्त आयलगायत विभिन्न स्रोत समावेश गरिएको छ।
तर सोही अवधिमा सापकोटा तथा उहाँको परिवारबाट पाँच करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च तथा लगानी भएको आयोगको अनुसन्धानबाट खुलेको छ।
उक्त रकम जग्गा खरिद, घर निर्माण तथा घरजग्गा खरिद, सेयर तथा सवारीसाधन खरिद, कर्जा भुक्तानी, बीमा प्रिमियम, अध्ययन तथा विदेश भ्रमण, सुन तथा विद्युतीय उपकरण खरिद, घरबहाल खर्च तथा नगद र बैंक मौज्दातलगायतमा खर्च तथा लगानी भएको आयोगले जनाएको छ।
वैधानिक आय र खर्च तथा लगानीबीच तुलना गर्दा दुई करोड तीन लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको आयोगको दाबी छ।
आयोगका अनुसार सापकोटाले पेस गर्नुभएको सम्पत्ति विवरणमा उल्लेखित सम्पत्तिको वैध स्रोतसमेत अनुसन्धानका क्रममा प्रमाणित हुन सकेन। सार्वजनिक सेवामा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो जीवनस्तर यापन गर्नुभएको तथा त्यस्तो सम्पत्तिको केही हिस्सा उहाँकी श्रीमती निरजा पण्डितको नाममा समेत रहेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।
आयोगले सापकोटा र उहाँकी श्रीमती पण्डितविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुनबमोजिम कसुर गरेको दाबी गर्दै बिगो असुलउपर, कानुनी सजाय तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिसम्बन्धी आवश्यक कारबाहीको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।