काठमाडौँ, २२ साउन । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बेवारिसे बिरामीलाई आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको सम्पूर्ण शुल्क अबदेखि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले व्यहोर्ने भएको छ।
यससम्बन्धी सम्झौतापत्रमा बिहीबार राष्ट्रिय ट्रमा सेन्टर, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाबीच हस्ताक्षर भएको छ।
आगामी असार मसान्तसम्म लागू रहने सम्झौतापत्रमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनी, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल तथा केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गर्नुभएको छ।
सम्झौता कार्यक्रममा प्रतिनिधिसभा सदस्य लालविक्रम थापाको उपस्थिति रहेको थियो।
यस अवसरमा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका मन्त्री बुद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका उपनिर्देशक प्रकाशकुमार यादव, जनसम्पर्क अधिकृत सन्देश थापा, राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक सेवा विभागकी प्रमुख इन्दिरा पाण्डेलगायत ट्रमा सेन्टरका विभिन्न विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले विगत करिब डेढ वर्षदेखि मौखिक सहमतिको आधारमा बेवारिसे बिरामीका लागि आवश्यक रगत तथा रगतजन्य पदार्थको शुल्क केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रलाई उपलब्ध गराउँदै आएको थियो। चालु आर्थिक वर्षदेखि उक्त व्यवस्थालाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यले औपचारिक सम्झौता गरिएको सम्बन्धित पक्षले बताउनुभएको छ।
सम्झौतापछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बेवारिसे बिरामीलाई आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थ उपलब्ध गराउने प्रक्रिया थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।