• सोमबार, १५ भदौ २०८३
  • images

    निजी काममा एम्बुलेन्स प्रयोग, पूर्व वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    निजी काममा एम्बुलेन्स प्रयोग, पूर्व वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    मंगलबार, साउन १२ २०८३
    मंगलबार, साउन १२ २०८३
    निजी काममा एम्बुलेन्स प्रयोग, पूर्व वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं, १२ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध सार्वजनिक सेवाका लागि प्राप्त एम्बुलेन्स निजी रूपमा सञ्चालन गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भारत सरकारको सहयोगमा भारतीय राजदूतावासमार्फत वडाबासीको सेवाका लागि उपलब्ध गराइएको एम्बुलेन्सलाई सरकारी अभिलेखमा विधिवत् दर्ता नगरी करिब तीन वर्ष पाँच महिनासम्म आफ्नै नियन्त्रणमा राखी निजी प्रयोजनमा सञ्चालन गरिएको आरोपपत्रमा उल्लेख छ।

    अख्तियारका अनुसार तत्कालीन वडाध्यक्ष यादवले २०७७ साल असोज १४ गते भारतीय राजदूतावाससँग सम्झौता गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ एम्बुलेन्स प्राप्त गरेका थिए। तर उक्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी अभिलेखमा आम्दानी नबाँधी निजी सवारीसाधनसरह सञ्चालन गरिएको तथा त्यसको आधिकारिक लगबुक, इन्धन खर्च र आम्दानी–व्ययको अभिलेख नराखिएको अनुसन्धानबाट खुलेको छ।

    अनुसन्धानका क्रममा उक्त एम्बुलेन्स तीन वर्ष पाँच महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर सञ्चालन भएको पाइएको छ। नेपाल रेडक्रस सोसाइटी धनुषाले निर्धारण गरेको कच्ची सडकको एम्बुलेन्स भाडादरलाई आधार मान्दा सार्वजनिक सम्पत्तिमा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको हानी–नोक्सानी भएको अख्तियारको दाबी छ।

    आयोगका अनुसार अनुसन्धानका क्रममा यादवले ३ लाख ८१ हजार ५९७ रुपैयाँ सरकारी खातामा दाखिला गरे पनि बाँकी ११ लाख २७ हजार ६५३ रुपैयाँ असुलउपर गर्नुपर्ने देखिएको छ।

    अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बराबरको जरिवाना, कैद सजाय तथा बाँकी बिगो रकम असुलउपरको माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार