भक्तपुर, २२ असार । बागमती प्रदेश अन्र्तगत रहेको भक्तपुर अस्पतालले मेरुदण्ड भाँचिएको (स्पाइनल फ्र्याक्चर) भएका एक बिरामीको सफल शल्यक्रिया गर्दै जटिल ट्रमा उपचार सेवामा अर्को महत्वपूर्ण उपलब्धि हाँसिल गरेको छ।
अस्पतालका अनुसार शुक्रबार ४२ वर्षीय एक पुरुष बिरामीको स्पाइनल स्टेबिलाइजेसन शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो। दुर्घटनाका कारण ढाडमा गम्भीर चोट लागेपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो। विस्तृत परीक्षणबाट मेरुदण्डमा फ्र्याक्चर भएको पुष्टि भएपछि शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा.त्रिभुवनचन्द्र झाले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो।
शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको अर्थोपेडिक शल्यचिकित्सक डा. पाण्डेले बताउनुभयो। उहाँका अनुसार बिरामी हाल चिकित्सकहरूको नियमित निगरानीमा स्वास्थ्य लाभ गरिरहनुभएको छ।
यसैबीच, डा. पाण्डेको नेतृत्वमा यही साता ५८ वर्षीया एक महिलाको घुँडा प्रत्यारोपण शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ। लामो समयदेखि घुँडाको जोर्नी खिइने समस्याबाट पीडित ती बिरामीको शल्यक्रियापछि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. झाले जानकारी दिनुभयो। दुवै बिरामी भक्तपुर जिल्लाका निवासी हुनुहुन्छ ।
अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले मेरुदण्ड र घुँडा प्रत्यारोपणजस्ता जटिल हाडजोर्नी शल्यक्रियाको सफलताले भक्तपुर अस्पतालमा उपलब्ध विशेषज्ञ सेवा, शल्यक्रिया क्षमता तथा जटिल ट्रमा बिरामीको सुरक्षित उपचार गर्ने दक्षता थप पुष्टि भएको बताउनुभयो।
शल्यक्रियामा संलग्न चिकित्सकहरूले यस्ता सफलताले अस्पतालप्रति बिरामीको विश्वास बढ्नुका साथै आगामी दिनमा जटिल हाडजोर्नी तथा ट्रमा सेवालाई अझ प्रभावकारी रूपमा विस्तार गर्न थप उत्साह र आत्मविश्वास मिलेको प्रतिक्रिया दिएका छन्।
शल्यक्रियामा अर्थोपेडिक शल्यचिकित्सक डा. मधु पाण्डेको नेतृत्वमा सम्पन्न शल्यक्रियामा डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल र डा. रोशन ग्वाछा सहभागी हुनुहुन्थ्यो।