• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्न चिकित्सक संघको माग

    स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्न चिकित्सक संघको माग

    चिकित्सकलाई प्रथम श्रेणीमा नियुक्त गर्न सरकारलाई दवाब

    बिहीबार , जेठ १४ २०८३
    बिहीबार , जेठ १४ २०८३
    स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्न चिकित्सक संघको माग

    काठमाडौं, १४ जेठ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न तथा चिकित्सकहरूको सेवा–सुविधामा सुधार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

    संघले आगामी आर्थिक वर्षको बजेटमार्फत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने माग गरेको हो ।

    images

    संघका महासचिव डा. सञ्जिव तिवारीद्वारा जारी प्रेस विज्ञप्तिमा स्वास्थ्य कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने प्रकृतिका भएकाले बजेट कटौती वा सीमित बजेट निर्धारणले प्रत्यक्ष रूपमा जनस्वास्थ्य सेवामा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ । त्यसैले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर पर्याप्त स्रोत सुनिश्चित गर्नुपर्नेमा संघले जोड दिएको छ ।

    संघले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै सेवा–सुविधा सुधार नगर्दा दक्ष जनशक्ति विदेशिने जोखिम बढिरहेको जनाएको छ । नेपाली नागरिकको स्वास्थ्य सेवा पाउने मौलिक अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि अपरिहार्य रहेको संघको भनाइ छ ।

    संघले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सार्क मुलुकका अन्य देशहरूमा जस्तै प्रथम श्रेणीमा नियुक्त गर्ने व्यवस्था गर्न माग गरेको छ । चिकित्सकहरूको अध्ययन अवधि अन्य स्नातक तहभन्दा लामो र जटिल हुने भएकाले सोहीअनुसार राज्यले मान्यता दिनुपर्ने संघले जनाएको छ ।

    यस्तै लोकसेवा आयोगमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी तत्काल वृद्धि गर्न तथा स्वास्थ्य सेवाको दीर्घकालीन सुधारका लागि चिकित्सा सेवा आयोग र चिकित्सा सेवा ऐन निर्माण गर्न आवश्यक बजेट छुट्याउन पनि संघले माग गरेको छ ।

    संघले पूर्णकालीन रूपमा कार्यरत चिकित्सकहरूले अतिरिक्त समयमा प्रदान गर्ने परामर्श, शल्यक्रिया तथा उपचार सेवाबाट प्राप्त आम्दानीमा १५ प्रतिशत टीडीएसलाई अन्तिम कर मान्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ ।

    त्यस्तै व्यक्तिगत प्यानमार्फत सेवा प्रदान गर्ने चिकित्सकका लागि आयको आधारमा छुट्टाछुट्टै अन्तिम करको व्यवस्था गर्नुपर्ने संघको माग छ । संघले वार्षिक २५ लाख रुपैयाँसम्मको आम्दानीमा १५ प्रतिशत, २५ देखि ५० लाख रुपैयाँसम्म १७ प्रतिशत तथा ५० लाखभन्दा माथिको आम्दानीमा २० प्रतिशत अन्तिम कर कायम गर्नुपर्ने सुझाव दिएको छ ।

    चिकित्सकहरूको सेवा–सुविधा हाल न्यून रहेको उल्लेख गर्दै संघले प्रोत्साहन भत्ता, जोखिम बीमा, आवास, सवारी साधन तथा चालक सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । २४ घण्टा सेवा दिनुपर्ने अवस्थालाई ध्यानमा राखेर चिकित्सकहरूको पेशागत सुरक्षा र सुविधा सुनिश्चित गर्नुपर्ने संघको धारणा छ ।

    संघले चिकित्सा शिक्षामा राज्यले निर्धारण गरेको शुल्क संरचनाअनुसार चिकित्सकको तलब तथा सेवा–सुविधा पनि सुनिश्चित गरिनुपर्ने स्पष्ट पारेको छ ।

    संघका अनुसार स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी, सेवा–सुविधामा सुधार तथा नीतिगत व्यवस्थाको अभाव रहेमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा दीर्घकालीन असर पर्ने जोखिम बढ्नेछ । त्यसैले आगामी बजेटमार्फत स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार