काठमाडौँ, २७ वैशाख । सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित तथा वातावरणमैत्री बनाउने उद्देश्यसहित आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनअनुसार संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरकारी निकायलाई अभियानमा सक्रिय सहभागिता जनाउन निर्देशन दिइएको छ।
अभियानको औपचारिक शुभारम्भ वैशाख २८ गते बिहान ८ः३० बजे वीर अस्पतालबाट हुने तय गरिएको छ। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको सहभागिता रहने जनाइएको छ।
सरकारले जारी गरेको “सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३” मा सरकारी कार्यालयभित्र नियमित सरसफाइ, व्यवस्थित फोहोर व्यवस्थापन तथा स्वच्छ कार्य वातावरण कायम गर्नुपर्ने स्पष्ट मापदण्ड समावेश गरिएको छ।
मार्गदर्शनअनुसार कार्यालय परिसरमा रहेका सूचना बोर्ड, नागरिक वडापत्र तथा संकेत चिन्हहरू व्यवस्थित र स्पष्ट राख्नुपर्ने व्यवस्था गरिएको छ। साथै चर्किएका भित्ताहरूको मर्मत, आवश्यक रंगरोगन तथा मुख्य सेवा क्षेत्रलाई सफा, सुरक्षित र आकर्षक बनाइ राख्नुपर्ने उल्लेख गरिएको छ।
सरकारले सबै सरकारी कार्यालयका शौचालयलाई दुर्गन्धरहित राख्न, नियमित पानी र साबुनको व्यवस्था गर्न तथा महिलामैत्री र अपाङ्गतामैत्री सुविधा सुनिश्चित गर्न पनि निर्देशन दिएको छ।
त्यसैगरी कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्न कम्तीमा दुई प्रकारका डस्टबिन राख्नुपर्ने तथा खुला रूपमा फोहोर जलाउने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।
कार्यालय परिसर, नाली तथा ढलको नियमित सफाइ गर्नुपर्ने, अव्यवस्थित तार तथा अनधिकृत पोस्टर हटाउनुपर्ने र सेवाग्राहीलाई सहज सेवा दिन हेल्प डेस्क सञ्चालन गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमा समेटिएको छ।
अभियानलाई प्रभावकारी र दिगो बनाउन प्रत्येक सरकारी निकायमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्ने, साप्ताहिक सरसफाइ कार्यतालिका तयार गर्ने तथा मासिक स्व–मूल्यांकन प्रणाली लागू गर्ने व्यवस्था गरिएको छ।
सरकारले अभियानको कार्यान्वयन, अनुगमन तथा समन्वयको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिएको जनाएको छ।