भत्ता फिर्ता गर्ने घोषणा
चितवन, १८ वैशाख । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. ढुण्डिराज पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।
उहाँले राजीनामासँगै पदमा रहँदा प्राप्त गरेका सम्पूर्ण सुविधा तथा भत्ता फिर्ता गर्ने घोषणा गर्नुभएको छ ।
गत माघ महिनामा अध्यक्ष पदमा नियुक्त हुनुभएका डा पौडेलले आफ्नो कार्यकालमा अस्पताललाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने, सेवा विस्तार गर्ने तथा गुणस्तरीय उपचार प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको बताउनुभयो ।
उहाँले चिकित्सा सेवा, शिक्षा र अनुसन्धानलाई एकअर्काका परिपूरक क्षेत्रका रूपमा समन्वय गरेर अघि बढाउनुपर्ने बताउनुभयो।
राजीनामा पत्रमा उहाँले भरतपुर अस्पतालको भौगोलिक महत्व, बढ्दो बिरामी चाप तथा मध्यम र न्यून आय भएका बिरामीलाई सेवा प्रदान गर्दा देखिएका चुनौतीहरूलाई विशेष रूपमा उल्लेख गर्नुभएको छ।
उहाँले अस्पताललाई अझ व्यवस्थित, प्रभावकारी र दिगो बनाउन दीर्घकालीन संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो।
डा पौडेलले सार्वजनिक पदमा रहँदा प्राप्त गरेका भत्ता तथा अन्य सुविधा फिर्ता गर्ने निर्णयलाई नैतिक जिम्मेवारी र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धतासँग जोडिएको बताउनुभयो।
झण्डै चार दशक सरकारी स्वास्थ्य सेवा, दुई दशकभन्दा बढी विशेषज्ञ सेवा तथा चिकित्सा शिक्षामा संलग्न अनुभवका आधारमा उहाँले स्वास्थ्य क्षेत्रमा आवश्यक सुधारका लागि विभिन्न सुझावहरू दिनुभएको छ।
उहाँले नागरिक र चिकित्सकबीच बढ्दो अविश्वास अन्त्य गर्न तथा स्वास्थ्यकर्मीहरूमा उत्साह अभिवृद्धि गर्न सुधार अपरिहार्य रहेको बताउनुभयो।
हालै मन्त्रीस्तरीय निर्णयमार्फत अध्यक्षमा नियुक्त हुनुभएका पौडेलले भरतपुर अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना अघि सार्नुभएको थियो। तर व्यवस्थापन सुधार, नीतिगत अस्पष्टता तथा स्वास्थ्य क्षेत्रका जटिल चुनौतीहरूलाई नयाँ ढंगले सम्बोधन गर्नुपर्ने आवश्यकता महसुस भएकाले राजीनामा दिनुभएको हो ।
राजीनामा पत्रमार्फत उहाँले औपचारिक रूपमा पदबाट अलग हुँदै आगामी दिनमा चिकित्सक तथा प्राध्यापकका रूपमा सेवा जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।