• बिहीबार , ५ कात्तिक २०८३
  • images

    छुटेका बालबालिकालाई लक्षित ‘खोज र खोप’ अभियान सुरु 

    छुटेका बालबालिकालाई लक्षित ‘खोज र खोप’ अभियान सुरु 

    सोमबार, वैशाख १४ २०८३
    सोमबार, वैशाख १४ २०८३
    छुटेका बालबालिकालाई लक्षित ‘खोज र खोप’ अभियान सुरु 

    काठमाडौँ, १४ वैशाख। स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप तथा बाल स्वास्थ्य शाखाले नियमित खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गर्दै देशभर ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ।

    वैशाख महिनाभर सञ्चालन हुने यस अभियानमार्फत पाँच वर्षमुनिका त्यस्ता बालबालिकालाई खोजी गरी खोप सेवा प्रदान गरिने विभागले जनाएको छ, जसले विभिन्न कारणले नियमित खोप छुटाएका छन्।

    images

    अभियानअन्तर्गत १५ महिनासम्म लगाउनुपर्ने नियमित खोप छुटेका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप उपलब्ध गराइनेछ। सरकारले यसअघि मङ्सिर र पुस महिनामा खोपबाट छुटेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिसकेको छ, जसका आधारमा अहिले लक्षित कार्यक्रम सञ्चालन गरिएको हो।

    सरकारी तथ्याङ्कअनुसार हाल नेपालमा करिब ९० प्रतिशत बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् भने १० प्रतिशत बालबालिकाले सबै खोप पूरा गर्न सकेका छैनन्। त्यस्तै, करिब एक प्रतिशत बालबालिका अझै पनि कुनै पनि खोपबाट वञ्चित रहेको अवस्था छ।

    बालबालिकालाई जन्मेदेखि पाँच वर्षको उमेरसम्म विभिन्न सङ्क्रामक रोगबाट जोगाउन नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ। विश्व स्वास्थ्य संगठन का अनुसार खोप कार्यक्रमकै प्रभावकारिताका कारण नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सन् १९९६ मा प्रति हजार जीवित जन्म ११८ बाट घटेर सन् २०२३ मा २६।५ मा झरेको छ।

    केही जिल्लामा खोप छुटेका बालबालिकाको सङ्ख्या बढ्दै जाँदा दादुरा–रुबेला जस्ता रोगको प्रकोप देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘खोज र खोप’ अभियानलाई प्राथमिकताका साथ अघि बढाएको हो।

    सरकारले यस अभियानमार्फत छुटेका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याई रोग, अपाङ्गता तथा अकाल मृत्युदर घटाउने लक्ष्य लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार