• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    नेपाल रेडक्रसकी  कर्मचारी पाण्डेको गर्भपतन गराउने प्रयासमा मृत्यु, तीन जना पक्राउ 

    नेपाल रेडक्रसकी  कर्मचारी पाण्डेको गर्भपतन गराउने प्रयासमा मृत्यु, तीन जना पक्राउ 

    मंगलबार, वैशाख ८ २०८३
    मंगलबार, वैशाख ८ २०८३
    नेपाल रेडक्रसकी  कर्मचारी पाण्डेको  गर्भपतन गराउने प्रयासमा मृत्यु, तीन जना पक्राउ 

    बुटवल, ८ वैशाख । बुटवलमा नेपाल रेडक्रसमा कार्यरत  कर्मचारी गिता पाण्डेको असुरक्षित गर्भपतन गराउँदा मृत्यु भएको छ।

    सो घटनाको आरोप लागेका  तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    बुटवलस्थित विभिन्न क्लिनिकमा गर्भपतनका नाममा  भएको  लापरबाहीका कारण गर्भवती महिला पाण्डेको ज्यान गएको हो ।

     मृतकका आफन्तले  प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन् । घटनासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

    बगनासकाली गाउँपालिका–२, पाल्पाकी २९ वर्षीया गीता पाण्डेको गर्भपतन गराउने क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेपछि मृत्यु भएको हो। मृतक रेडक्रस सोसाइटीकी कर्मचारीसमेत हुनुहुन्छ ।

    परिवारका अनुसार, करिब १२ हप्ताको गर्भ अस्वस्थ भएपछि पाण्डे आफ्ना श्रीमाननसहित उपचारका लागि बुटवल आउनुभएको थियो। चैत २७ गते प्रारम्भिक जाँच गराउनुभएकी उहाँले वैशाख ५ गते पुनः जाँचका लागि खत्री नर्सिङ होम पुग्नुभएको थियो । त्यहाँका चिकित्सकले गर्भपतन गर्नुपर्ने सुझाव दिए पनि आफूहरूसँग सेवा उपलब्ध नभएको भन्दै अन्यत्र जान सल्लाह दिएका थिए।

    त्यसपछि उनीहरू हस्पिटल लाइनस्थित जोनल फार्मेसी क्लिनिक पुगेका थिए। त्यहाँ पनि चिकित्सक नभएको भन्दै नजिकैको अर्को क्लिनिक—इन्दुलेखा क्लिनिकमा पठाइएको थियो। सो क्लिनिकमा औषधि प्रयोग गरेपछि पाण्डेको स्वास्थ्य अचानक बिग्रिएको परिवारले जनाएको छ।

    अवस्था नियन्त्रण बाहिर गएपछि उहाँलाई लुम्बिनी सिटी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

    पीडित परिवारले एक क्लिनिकबाट अर्कोमा पठाउँदै जिम्मेवारीबाट पन्छिने र असुरक्षित तरिकाले औषधि प्रयोग गर्ने कार्यले ज्यान गएको आरोप लगाएका छन्। मृतकका श्रीमान् सरकारी सेवामा कार्यरत  छन् भने उनीहरूको पाँच वर्षको एक सन्तान रहेको छ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा जोनल हेल्थ क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसी क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे छन्।

    यसैबीच, जाहेरीमा उल्लेख गरिएका अन्य दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

    प्रहरीले शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइसकेको छ भने पक्राउ परेकाहरूको बयानका आधारमा थप कानुनी कारबाही गरिने जनाएको छ।

    मृतकका आफन्त गोकुल पाण्डेले नियमित जाँच भइरहेकै स्थानबाट अन्यत्र रिफर गरिनु, उचित उपचार नदिनु र असुरक्षित औषधिको प्रयोग गरिनु नै मृत्युको प्रमुख कारण भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार