देश विकासमा सामाजिक संस्थाको भूमिका अपरिहार्यः न्यायाधीश विनोद शर्मा
ओखलढुंगाको विकासमा पोकली झरना सेवा समाजको योगदान प्रशंसनीय रहेको वक्ताहरुको भनाई । सामाजिक एकताले मात्र सम्भव छ समग्र विकास हुनेमा जोड । पोकली क्षेत्रलाई विश्वसामु चिनाउन समाजको सक्रियता ।
काठमाडौँ, ६ वैशाख । पोकली झरना सेवा समाजको आयोजनामा नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो भने वक्ताहरूले सामाजिक संस्थाहरूको भूमिका देश विकासमा अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माले देशको समग्र विकासका लागि सामाजिक संघसंस्थाहरूको योगदान अपरिहार्य रहेको बताउनुभयो। उहाँले विकास केवल सरकारी प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै समाजका सक्रिय नागरिक र संस्थाहरूको सहकार्य आवश्यक हुने धारणा व्यक्त गर्नुभयो।
न्यायाधीश शर्माले ओखलढुंगा जिल्ला, विशेषगरी लिखु तथा पोकली क्षेत्रको विकासमा पोकली झरना सेवा समाजले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। “मैले यस संस्थालाई नजिकबाट नियालिरहेको छु, यसले सामाजिक चेतना र विकासका क्षेत्रमा उल्लेखनीय काम गरेको छ,” उहाँले भन्नुभयो । साथै उहाँले आगामी दिनमा पनि संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले २० वर्षअघि समाज स्थापना हुँदा आफूलाई निमन्त्रणा आएको स्मरण गर्दै विभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसके पनि संस्थाबाट प्राप्त मायाको चिनो अझै सुरक्षित राखेको बताउनुभयो। नयाँ वर्ष २०८३ देशको समृद्धि र विकासका लागि फलदायी होस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले वर्तमान राजनीतिक परिवेशबारे टिप्पणी गर्दै देश परिवर्तनको चरणमा रहेको बताउनुभयो। उहाँले नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै जनतामा आशा जागेको उल्लेख गर्दै ओखलढुंगाले पनि विकास र समृद्धिको नयाँ मुहार देख्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, पूर्व सांसद रामहरी खतिवडाले पोकली क्षेत्रको विकासमा आफ्नो योगदानको चर्चा गर्दै शिक्षा क्षेत्रको विकासका लागि आफूले पहल गरेको बताउनुभयो। उहाँले जनजीवन माध्यमिक विद्यालयको भवन निर्माणका लागि बजेट व्यवस्थापन गरेको स्मरण गर्दै शिक्षा विकास नै दीर्घकालीन प्रगतिको आधार भएको उल्लेख गर्नुभयो।
ओखलढुंगा ‘ख’ का प्रदेशसभा सदस्य बाबुराम गौतमले देशमा राजनीतिक परिवर्तन भए पनि जनताको दैनिक जीवनमा सुधार नआएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले बढ्दो महँगीले जनताको ढाड सेकिएको उल्लेख गर्दै पेट्रोलियम पदार्थदेखि खाद्यान्नसम्मको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउनुभयो। साथै उहाँले विकासका लागि सामाजिक संस्थाहरूले आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा पोकली झरना सेवा समाजका अध्यक्ष कृष्ण ढुंगेलले संस्थाले पोकली क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले समाज ओखलढुंगाको पुरानो सामाजिक संस्था भएको उल्लेख गर्दै आगामी दिनमा पनि विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, टारकेराबारी सेवा समाजका सचिव रञ्जन खड्काले पोकली झरना सेवा समाजको प्रेरणाबाट आफ्नो संस्था स्थापना भएको बताउँदै सामाजिक क्षेत्रमा सकारात्मक काम गर्ने प्रेरणा पाएको उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसमा टारकेराबारी सेवा समाजका अध्यक्ष टिका विष्ट, गाम्नाङटर सेवा समाजका अध्यक्ष कल्याणचन्द्र भट्टराई, यसम सेवा समाज तथा नर्मदेश्वर सेवा समाजका प्रतिनिधिहरू सहभागी भएका थिए।कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मण बरालले गर्दै सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन प्रतिरोध सुवेदीले गर्नुभएको थियो भने कार्यक्रममा कलाकारले सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूले विशेष आकर्षण थपेका थिए ।
कार्यक्रममा वरिष्ठ गायक नविन ढुंगेल, बलबहादुर परियार, गायिका अञ्जु गौतम, गायक लिला श्रेष्ठ र अर्जुन घिमिरेले आफ्नो प्रस्तुति दिनुभएको थियो ।
त्यसका साथै विभिन्न खेलकुद तथा सांस्कृतिक गतिविधिहरू पनि आयोजना गरिएको थियो, जसले कार्यक्रममा सहभागीहरूलाई मनोरञ्जनसँगै आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पु¥याएको थियो।
सो कार्यक्रमले सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा विकासका लागि सामूहिक प्रयासको आवश्यकता झल्काएको सहभागीहरूले बताएका छन् ।