काठमाडौँ, २९ चैत । स्वास्थ्य सेवा प्रवाहलाई छिटो, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले सरकारी अस्पतालहरूमा डिजिटल प्रणालीमार्फत स्वास्थ्य परीक्षण रिपोर्ट उपलब्ध गराउने तयारी अघि बढाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आइतबार वीर अस्पतालको अनुगमनका क्रममा यस्तो जानकारी दिनुभएको हो। अनुगमनका क्रममा उहाँले सेवाग्राही तथा उनीहरूका आफन्तसँग प्रत्यक्ष रूपमा संवाद गर्दै अस्पताल सेवामा देखिएका समस्याबारे जानकारी लिनुभएको थियो।
सो अवसरमा सेवाग्राहीहरूले स्वास्थ्य परीक्षणपछि रिपोर्ट प्राप्त गर्न ढिलाइ हुने, पटक–पटक अस्पताल धाउनुपर्ने तथा झन्झट व्यहोर्नुपर्ने अवस्थाबारे गुनासो गर्नुभएको थियो। उक्त गुनासोप्रति ध्यान दिँदै मन्त्री मेहताले स्वास्थ्य परीक्षण रिपोर्टलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने तयारी भइरहेको स्पष्ट पार्नुभयो।
उहाँले अब बिरामीहरूले अस्पतालमै उपस्थित नभई घरबाटै आफ्नो रिपोर्ट हेर्न सक्ने व्यवस्था लागू गर्ने दिशामा काम भइरहेको बताउनुभयो। यसले सेवाग्राहीको समय बचत हुनुका साथै अस्पतालको भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
अस्पताल प्रशासनले भने दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने भएकाले सेवा व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाएको छ। प्रशासनका अनुसार वीर अस्पतालमा दैनिक करिब पाँच हजार सेवाग्राहीले बहिरंग सेवा (ओपीडी) लिने भएकाले परीक्षण रिपोर्ट तयार पार्न समय लाग्ने गरेको बताइएको छ।
अनुगमनका क्रममा मन्त्री मेहताज्यूले अस्पतालमा आवश्यक औषधिको आपूर्ति पर्याप्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
उहाँले स्वास्थ्य संस्थाहरूले सेवाग्राहीलाई गुणस्तरीय, छिटो र सहज सेवा उपलब्ध गराउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
अनुगमनपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै मन्त्री मेहताज्यूले स्वास्थ्य क्षेत्र सुधारका थप कार्यक्रमहरू छिट्टै सार्वजनिक गरिने जानकारी दिनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी बनाउने सरकारको प्राथमिकता रहेको पनि उल्लेख गर्नुभयो।