• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    प्रेमसागर कर्माचार्यद्धारा १८६औँ पटक रक्तदान

    प्रेमसागर कर्माचार्यद्धारा १८६औँ पटक रक्तदान

    आइतबार, चैत २२ २०८२
    आइतबार, चैत २२ २०८२
    प्रेमसागर कर्माचार्यद्धारा १८६औँ पटक रक्तदान

    सिन्धुपाल्चोक, २२ चैत । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा शतक रक्तदाताका रूपमा परिचित प्रेमसागर कर्माचार्यले १८६औँ पटक रक्तदान गर्नुभएको छ । 

     उहाँको रक्तदानमा गरिएको योगदानले समाजमा मानवीय सेवाको उदाहरण प्रस्तुत गर्नुका साथै रक्तदान अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

    images

    शनिबार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल पाल्चोकी भगवती मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा उहाँले आफ्नो अघिल्लो १८५ पटकको रेकर्डलाई पार गर्दै १८६औँ पटक रक्तदान गर्नुभएको हो। 

    कार्यक्रममा स्थानीयवासी, युवायुवती तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कर्माचार्यले रक्तदान जीवन बचाउने सबैभन्दा सरल र प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “रक्तदान भनेको केवल दान मात्र होइन, यो जीवन दिने पुण्य कार्य हो। हरेक स्वस्थ नागरिकले नियमित रूपमा रक्तदान गर्नुपर्छ भन्ने भावना समाजमा विकास हुन अत्यन्त जरुरी छ।”

    उहाँले युवापुस्तालाई लक्षित गर्दै थप भन्नुभयो, “म देशका विभिन्न जिल्लामा पुगेर रक्तदान गरिरहेकै छु। मेरो उद्देश्य युवाहरूलाई प्रेरित गर्नु हो, ताकि उनीहरूले पनि मानवीय सेवामा अग्रसरता देखाउन सकून्।”

    यस अवसरमा उहाँले निःशुल्क रूपमा दान गरिएको रगतमा सरकारले शुल्क लिने प्रचलनप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले स्पष्ट रूपमा भन्नुभयो, “दानमा दिइएको रगत बिरामीले निःशुल्क रूपमा पाउनुपर्छ। यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै नयाँ सरकारलाई पनि झक्झक्याउने मेरो प्रयास रहनेछ।”

    उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी १७ जनाले उत्साहपूर्वक रक्तदान गर्नुभएको थियो।

     आयोजकका अनुसार यस्तो कार्यक्रमले स्थानीय स्तरमा रक्त अभाव न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

    यसै अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज सिन्धुपाल्चोक जिल्ला तदर्थ कार्यसमिति समेत गठन गरिएको छ। समाजका आजीवन सदस्य धनबहादुर पाण्डेको अध्यक्षतामा गठन गरिएको उक्त कार्यसमितिले आगामी दिनमा जिल्लाभर रक्तदान अभियानलाई थप विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार