• बिहीबार , ५ कात्तिक २०८३
  • images

    सल्लाघारी चोकमा दुई बस ठोक्किए

    सल्लाघारी चोकमा दुई बस ठोक्किए

    नक्कली बस दुर्घटना अभ्यास मार्फत विपद् व्यवस्थापनको तयारी

    मंगलबार, चैत १० २०८२
    मंगलबार, चैत १० २०८२
    सल्लाघारी चोकमा दुई बस ठोक्किए

    भक्तपुर, १० चैत । भक्तपुरको सल्लाघारी चोकको मुख्य सडकमा दुई सार्वजनिक बस एक आपसमा ठोक्किएको ‘दुर्घटना’ देखिएपछि स्थानीय केही समय आत्तिए।

     घटनास्थलमै दुई जनाको मृत्यु र १९ जना घाइते भएको दृश्य सिर्जना गरिएको थियो।

    images

    नेपाल रेडक्रस सोसाइटीको टोलीले सडकमै घाइतेको प्राथमिक उपचार थालेको देखियो भने आरएनए–१६, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेको उद्धार गरेको थियो। घाइतेलाई जिल्लाका चार वटा एम्बुलेन्समार्फत भक्तपुर जिल्ला अस्पताल पुर्‍याइएको थियो, जहाँ आकस्मिक कक्षमा चिकित्सक र नर्सहरूले तत्काल उपचारमा सक्रियता देखाएका थिए।

    तर, यो वास्तविक दुर्घटना नभई आकस्मिक सडक दुर्घटनाको कृत्रिम अभ्यास भएको आयोजकले बताएका छन्। भक्तपुर अस्पतालले जिल्ला प्रशासन कार्यालय, रणशेर गण सूर्यविनायक, जिल्ला प्रहरी परिसर भक्तपुर तथा सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटसँगको सहकार्यमा यस्तो अभ्यास गरिएको बताएको हो।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा गरिने उद्धार, प्राथमिक उपचारदेखि अस्पतालसम्मको सम्पूर्ण प्रक्रियाको अभ्यास गरिएको बताउनुभयो। उहाँका अनुसार यस्ता अभ्यासले भविष्यमा आउने सम्भावित विपद्मा प्रभावकारी रूपमा सेवा दिन सहयोग पुग्नेछ।

    अस्पतालका निर्देशक डा. सुरेन्द्र भट्टले जुनसुकै विपद्मा पनि अस्पताल तयारी अवस्थामा रहेको सन्देश दिन अभ्यास गरिएको बताउनुभयो। यसले आपतकालीन अवस्थामा थप प्रभावकारी रूपमा काम गर्न प्रेरणा मिल्ने उहाँको भनाइ छ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. कृपा महर्जनले सडकदेखि अस्पतालसम्म गरिएको अभ्यास उपलब्धिमूलक रहेको बताउनुभयो। उहाँले यसले भविष्यका चुनौती सामना गर्न क्षमता विकास भएको प्रमाणित गरेको उल्लेख गर्नुभयो।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा कार्यरत प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले यस्तो अभ्यासले सुरक्षाकर्मी, उद्धारकर्मी तथा स्वास्थ्यकर्मीलाई विपद्मा कसरी काम गर्ने भन्नेबारे प्रयोगात्मक सीप सिकाएको बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार