काठमाडौँ, ४ माघ । राधा क्यान्सर सचेतना फाउण्डेसनले ‘राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ का लागि आवेदन आह्वान गरेको छ।
फाउण्डेसनले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षको पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान गरेको हो।
फाउण्डेसनले स्वर्गीय पत्रकार राधा बस्यालको जन्म जयन्तीमा हरेक वर्ष आवेदन परेका पत्रकारमध्ये एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ।
आवेदन दिन इच्छुक पत्रकारले गत वर्षको फागुनदेखि यस वर्षको पुस मसान्तसम्म प्रकाशन तथा प्रसारण गरेका क्यान्सर सचेतना र हिंसा विरुद्धको ३ वटा क्यान्सरसम्बन्धी समाचार तथा लेख फागुन ४ गतेभित्र फाउण्डेसनमा पठाउनुपर्नेछ।
फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले प्राप्त आवेदनमध्येबाट फाउण्डेसनको पुरस्कार छनोट समितिले पुरस्कृत हुने व्यक्ति छनोट गर्नेछ। पुरस्कृत हुने पत्रकारले २० हजार रुपैयाँको राशी र सम्मान पत्र प्राप्त गर्ने जानकारी दिनुभयो ।
यस किसिमको पुरस्कारले देशभरका क्रियाशिल पत्रकारलाई क्यान्सरसम्बन्धी चेतना जगाउन र हिंसा विरुद्ध कलम चलाउन प्रेरणा मिल्ने आफुहरुको विश्वास रहेको बस्यालले बताउनुभयो।
२०४८ सालमा जन्मनुभएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो।
एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्नुभएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आउनुभएको थियो ।
समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ–गाउँमा सचेतना अभियानसमेत चलाउनुभएको थियो ।
राधाको निधनपश्चात फाउन्डेसनलाई उहाँका भाई बस्यालले निरन्तरता दिदै आउनुभएको छ ।
हेरौँ विज्ञप्तिः
मितिः २०८२/१०/०४
राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार का लागि आवेदन आह्वान
प्रेस विज्ञप्ति
२०४८ साल फागुन ९ गते आमा खीना शर्मा र बुवा शुभराज शर्मा बस्यालको कोखबाट जन्मिएकी राधा बस्याल नवलपुर जिल्लामा रहेर पत्रकारिता गर्नेहरुका लागि परिचित नाम हो । पत्रकारिता जम्दै गर्दा विवाह गरेकी राधाको वैवाहिक जीवन निकै कष्टकर रह्यो । परिवारको चरम यातना र श्रीमानको कुटाइले थिलथिलो भएकी राधामाथि स्तन क्यान्सरको बज्रपात आइलाग्यो । करिब साढे २ वर्षको अवधिमा राधाले रोगसँग मात्रै हैन घरेलु हिंसाविरुद्ध पनि लड्नु प¥यो । विगत १० वर्षदेखि सक्रिय पत्रकारितामा रहेकी बस्याल विवाह पश्चात घरेलु हिंसाको शिकार हुनुप¥यो तर पनि निरन्तर हिंसाका विरुद्धमा र न्यायको पक्षमा लडिरहनुभयो । रोग र हिंसाबाट शिकार हुँदा पनि बस्यालको पत्रकारिताको यात्रा रोकिएन । बरु त्यस कठिन घडीमा पनि महिला हिंसाविरुद्ध र स्तन क्यान्सरबारेको सचेतना जगाउँदै गाउँ गाउँ र बस्तीहरुमा पुग्नुभयो । महिलाका समस्या सुन्नुभयो, आफ्नो अनुभव सुनाउनुभयो र महिलालाई हिंसाका विरुद्ध एक हुन र न्यायको पक्षमा आवाज उठाउन उर्जा भरिरहनु भयो । क्यान्सर लागेको जानकारी हुनासाथ चिकित्सकले मृत्युको मिति तोके पनि आत्मबल, जीवन र आफ्नो लक्ष्यप्रतिको दृढ सङ्कल्प र चिकित्सकको सफल उपचारका कारण उहाँले रोगलाई जितेर केही समय आयु लब्याउनु भयो । यसबीच उहाँ आफ्नै सक्रियतामा राधा क्यान्सर सचेतना फाउन्डेसन नामक संस्था स्थापना गरी क्यान्सर सम्बन्धी चेतना जगाउन जिल्लाका विभिन्न स्थानमा पुग्नुभयो । त्यतिमात्र होइन रेडियो कार्यक्रम र पत्रिका तथा अनलाइनका माध्यमबाट हिंसाविरुद्ध र क्यान्सर रोगका बारेमा चेतना बाँड्ने काममा लागिरहनु भयो । अन्ततः पत्रकार राधाको २०७७ कात्तिक १४ गते निधन भयो ।
समाजमा चेतनाको विगुल फुक्ने उद्देश्यले पत्रकार राधाले खोलेको राधा क्यान्सर सचेतना फाउन्डेसनले राधाकै उद्देश्य र लक्ष्य अनुसार क्यान्सरका बारेमा चेतना जगाउने र हिंसाका विरुद्धमा आवाज उठाइरहेको छ ।
फाउन्डेसनले हरेक वर्ष राधाकै जन्मजयन्तीको अवसरमा क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने पत्रकारलाई सम्मान गर्ने गरेका छौँ । राधा केबल पत्रकार राधा मात्र नभई न्यायको निम्ति लड्ने एक योद्धा र सचेतनाका मोर्चामा होमिएको एक लडाकुसमान हुनुहुन्थ्यो । उहाँले चलाएको हिंसाविरुद्धको अभियान र क्यान्सर सचेतनाको अभियानमा यस पुरस्कारले थप उपलब्धीमुलक बनाउनेछ । हरेक वर्ष पुरस्कार वितरण गर्ने गरी फाउन्डेसनमा परिवारको तर्फको २ लाख रकमको अक्षयकोष स्थापना गरिएको जानकारी यसै विज्ञप्तिमार्फत गराउँछौंँ । अक्षयकोषको वार्षिक हुन आउने ब्याज रकमबाट दिइने नगद पुरस्कार राशी हरेक वर्षको फागुन ९ गते स्वर्गिय पत्रकार राधा बस्यालको जन्म जयन्तीको दिन नवलपुरबाटै समर्पण गरिनेछ । यसका लागि निम्न मापदण्ड तय गरिएको छ ।
तपशील
१. अक्षयकोषको रकमबाट वार्षिक हुन आउने ब्याज रकम सहित हरेक वर्ष रु २० हजार रुपयाँको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ अर्पण । (कर कट्टी सहित)
२. पुरस्कारका लागि हरेक वर्षको माघ ४ गते अर्थात आजकै दिन आवेदन आव्हान गरिने छ । यो बर्षका लागि आजबाट आव्हान गरिएको छ ।
३. आवेदन दिन इच्छुक देशैभरका पत्रकारले गत वर्षको फागुनदेखि यो बर्षको पुस मसान्तसम्म प्रकाशन/प्रशारण गरेका क्यान्सर सचेतना र हिंसाविरुद्धका ३ वटा (क्यान्सरसम्बन्धी एउटा सामग्री अनिवार्य) लेख समाचार फागुन ४ गतेभित्र राधा क्यान्सर सचेतना फाउन्डेनको इमेल rcaawareness@gmail.com मा पठाउनुपर्ने छ ।
४. प्रकाशित/ प्रसारित सामाग्रीका साथमा व्यक्तिगत परिचय खुल्ने कागजात पठाउनु पर्ने ।
६. प्राप्त आवेदनमध्येबाट फाउन्डेसनको मातहत रहने पुरस्कार छनोट समितिले रित पुगेको आवेदन र प्रकाशित प्रसारित सामग्रीको आधारमा पुरस्कृत हुने व्यक्ति छनोट गरेपछि उल्लेखित मितिमा कार्यक्रम गरी पुरस्कार राशी र सम्मान–पत्रसहित सम्मान गरिनेछ ।
यस किसिमको पुरस्कारले देशैभर क्रियाशील पत्रकारलाई क्यान्सरसम्बन्धी चेतना जगाउन र हिंसाविरुद्ध कलम चलाउन अझै उत्साह थपिने छ भन्ने विश्वास लिएका छौं । यस कार्यका निम्ति हामीलाई हौसला दिनुहुने र प्रत्यक्ष वा परोक्ष रूपमा सघाउने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दछौँ ।
स्वर्गिय राधा बस्यालप्रति भावपूर्ण श्रद्धासुमनसहित !
सम्पर्कः ९८४७४८३३३४