काठमाडौं, १ मंसिर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ।
नोबेल मेडिकल कलेज राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा नोबेललाई पनि सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८० । ०८१ मा स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सवै भन्दा बढी कर तिरेर राज्यको राजस्व प्रणालीलाई मजबुत बनाउन योगदान दिएको भन्दै नोबेललाई सम्मान प्रदान गरिएको हो।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यगर्दै आएको नोबेल यस वर्ष पनि उत्कृष्ट करदाताको सूचीमा अग्रस्थानमा रहेको विभागले जनाएको छ। नोबेल मेडिकल कलेज डा सुनिल शर्माकी छोरी सोइना शर्माले सम्हालिरहनुभएको छ ।
विभागले अन्य श्रेणीका उत्कृष्ट करदाताहरूलाई पनि सार्वजनिक गरेको छ। संस्थागत करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण पहिलो स्थानमा रह्यो भने व्यक्तिगत करदातातर्फ राजबहादुर शाह उत्कृष्ट हुनुभयो ।
एकलौटी फर्म श्रेणीमा थर्ड आइ इन्टरनेशनल, वस्तु निर्माणमा डाबर नेपाल, सूचना प्रविधि सेवा निर्यातमा ओरिक्स नेपाल प्रालि, कृषि तथा पशुपन्छीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक तथा वित्तीय सेवामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, पर्यटनतर्फ सोल्टी होटल लिमिटेड, र वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि उत्कृष्ट करदाता घोषित भए।
यस्तै, ५० देखि १०० करोड वार्षिक कारोबार समूहमा ब्रिडिएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भयो। डमीमूलक उद्योग श्रेणीमा भोटेकोशी पावर कम्पनी प्रालिले सबैभन्दा बढी कर तिर्यो। रेमिट्यान्स तथा मनी ट्रान्सफरमा आईएमई लिमिटेड उत्कृष्ट करदाता रह्यो भने निर्यातमुखी उद्योग श्रेणीमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गर्यो।