काठमाडौं, २६ भदौ । अनेरास्ववियुको अध्यक्षबाट राजीनामा दिनुभएका डा. सुजन कडरियाले आफूलाई घरमा हातहतियारसहित केही व्यक्ति आएर आक्रमण गरेपछि सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्न बाध्य बनाइएको दाबी गर्नुभएको छ ।
सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएका कडरियाले आज सामाजिक सञ्जालबाटै राजीनामा फिर्ता लिँदै जस्तोसुकै अवस्थामा पनि एमाले पार्टी नछाड्ने बताउनुभयो ।
आफूलाई घरमै आएर केही व्यक्तिले मार्न खोजेको र चोटसमेत लागेको भन्दै तस्बिर पनि सार्वजनिक गर्नुभएको छ ।
उहाँले आफूले परिस्थितिको सामना गर्न नसक्दा कमजोरी भएको भन्दै एमालेजनसँग माफी माग्नुभएको छ ।


कडरियाले फेसबुकमा लेख्नुभएको स्टाटस यस्तो छ:
हरेक पलहरु सपना जस्तै लागेको छ, विद्यार्थीमाथि गोली वर्षाएको घटनाले मलाइ विक्षिप्त वनाएको थियो।जेनजी पुस्ताको नाममा मेरो घरमा हातहतियारसहित आक्रमण गर्न आएको विषय पूर्ण सत्य हो। उनीहरूले मेरो घर जलाएर मलाई हत्या गर्न खोजेका थिए। शारीरिक हातपात त भयो नै, त्यसमाथि जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन पनि बाध्य बनाइयो।
सायद त्यतिबेला त्यस्तो पोस्ट नगरिएको भए, म आज जिउँदो हुने थिइन। तर यो प्रष्ट पार्न चाहन्छु—मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन। हो,मलाइ मार्न आएका हुन् यो सत्य हो, मलाइ हातपात पनि भयो र मार्न खोजियो एक जना चिनेको भाइले बचाएकै हो, उ प्रति जिवनभर कृतज्ञ रहनेछु।
आज हामी सवैले एक अर्कालाइ दोसारोपण होइन एकताभावका साथ संयमित हुन जरुरी छ। यस्तो बेलामा संविधान रक्षाको निमित्त सवै एक हुन जरुरी छ । यती वेला अव कसैले मारेछन्,भनेपनि एमाले छोड्दिन,यो नै सत्य हो। यो सवै परिस्थीतीले पुष्टि हुन्छ कि देशलाइ माया गर्ने एमाले नै हो।कुनै पनि आन्दोलनले देशको शिहंदरवार जलाउन सक्दैन, अदालत जलाउन सक्दैन।
विद्यार्थी मार्दा हामीले गलत भयो भन्यौं, अव यति ढुक्क साथ भन्छु त्यस पछि झनै अराजकता बढेको छ।देश संविधान अनुशार नै चल्नु पर्छ ।देशका वरिष्ठ नेताहरु यो परिस्थितिको सामना गर्न नसक्दा म बाट कमजोरी भएकै हो।
यसबाट एमाले जनमा पुर्याएको चोट प्रति क्षमा प्रार्थि छु।सबै परिस्थीतीको निम्ती आत्मआलोचित छु।मानिसले भुलहरु बाट नै सच्चिने हो।अहिलेलाइ म ठिक छु ।देश वचाउन सक्यौं भने हाम्रो जित हुनेछ। We shall overcome someday.