हेटौँडा, १७ भदौ । वरिष्ठ अर्थोपेडिक रोग विशेषज्ञ डा. रामचन्द्र सापकोटा हेटौँडा अस्पतालको निर्देशक पदमा नियुक्त हुनुभएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीको सिफारिसमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले उहाँलाई निर्देशकमा नियुक्त गर्नुभएको हो।
नियुक्तिपत्र प्रदान गर्दै मन्त्री थापाले हेटौँडा अस्पताललाई बागमती प्रदेशकै श्रेष्ठ स्वास्थ्य सेवा तथा चिकित्साशिक्षा केन्द्रको रूपमा विकास गर्ने लक्ष्य अनुरूप दक्ष, अनुभवी र उत्तरदायी नेतृत्व आवश्यक रहेको बताउनुभयो।
उहाँले डा. सापकोटाजस्तो विज्ञ चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शिक्षाको गुणस्तर तथा सेवाग्राहीमैत्री वातावरणमा गुणात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो।
डा. सापकोटा विगत लामो समयदेखि हेटौँडा अस्पतालमै वरिष्ठ अर्थोपेडिक रोग विशेषज्ञका रूपमा कार्यरत रहनुभएको छ।
उहाँले पोखरास्थित मणिपाल स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्नातक तह (एमबीबीएस) र त्रिभुवन विश्वविद्यालय, महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नुभएको हो।
नवनियुक्त निर्देशक डा. सापकोटाले पद बहाली पश्चात् भन्नुभयो, “स्वास्थ्य सेवा, शिक्षाको गुणस्तर तथा सेवाग्राहीमैत्री वातावरण सुदृढ गर्दै सबैको विश्वास जित्ने गरी इमान्दारितापूर्वक काम गर्नु नै मेरो पहिलो कर्तव्य हुनेछ।”
उहाँले प्रतिष्ठानका उपकुलपति डा. ज्ञवाली समक्ष पद तथा गोपनीयताको सपथ पनि लिनुभएको छ।