चितवन, १४ साउन । भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ ।
काठमाडौँको परोपकार प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए ।
अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्राडा सुनिलमणि पोखरेलले अस्पतालमा गत आव २०८१। ८२ मा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको जानकारी दिनुभयो । यसमध्ये चार हजार ३८३ ९५२ दशमलव ४५ प्रतिशत९को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना ९४५ दशमलव २८ प्रतिशत०को शल्यक्रिया (सिजेरियन डेलिभरी) र एक सय ८८ (२ दशमलव २६ प्रतिशत)को जटिल प्रसूति भएको थियो ।
अघिल्लो आव २०८० । ८१ मा नौ हजार ३५५ र त्यसअघि आव २०७९ । ८० मा ११ हजार ८९४ गर्भवतीले प्रसूति सेवा लिएका थिए ।
डा पोखरेलले भन्नुभयो, “केही वर्षअघि वार्षिक १६ हजारसम्मले यहाँ सेवा लिएका थिए । अहिले क्रमशः घट्ने क्रममा गएको छ ।” देशभरकै तथ्याङ्कमा ३० प्रतिशत हाराहारी घटेको भन्दै उहाँले बच्चा जन्माउने उमेरका युवायुवती विदेशिएको बताउनुभयो ।
विगतमा गाउँगाउँ र छिमेकी जिल्लाबाट प्रसूति सेवा लिन आउनेको सङ्ख्या धेरै हुने गरेको भन्दै डा पोखरेले पछिल्लो समय जिल्ला र नगरहरूमा प्रसूति सेवा विस्तार भएसँगै भरतपुर अस्पतालको चाप घटेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगर अस्पताल र बर्थिङ सेन्टरमा प्रसूति सेवाको विस्तार भएपछि भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या घट्दै छ ।” निजी अस्पतालमा सङ्ख्या बढेर सरकारी अस्पतालमा घटेको नभई स्थानीयस्तरमा नै सेवा पाएकाले यहाँ घटेको उहाँको भनाइ छ ।