काठमाडौँ, २६ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा कर हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल नेत्रज्योति संघका २९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले आँखा उपचार गरेर लगाइने चस्मा बाध्यात्मक भएकोले कर तथा भन्सार हटाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले नेत्रज्योती संघले नेपालको आँखा उपचारको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए । उनले भने,‘‘ नेत्रज्योति संघको पहलमा नेपालमा आँखा उपचारमा ठूलो भूमीका खेलेको छ, संघलाई सरकारको तर्फबाट गर्नुपर्ने सहयोग रहन्छ ।” नेत्रज्योति संघ प्रत्येक गाउँसंग जोडिनुपर्ने, संघका शाखा गाउँ गाउँमा पुग्नुपर्ने बताए ।
उनले फेसनसँग जोडिएको चस्मामा कर छुट नभएपनि उपचारसँग जोडिएको चश्मामा भने अर्को वर्षदेखि कर तथा भन्सार छुट गर्ने बताए ।
आँखाको उपचार सम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने विषयमा सरकारले सहयोग गर्ने जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य प्राडा. आरपी बिच्छाले नेपालले समग्र स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताए । उनले आँखा उपचारको लागि भारत, बंगलादेश, श्रीलका लगायतका देशबाट बिरामीहरु आएर नेपालको मेडिकल टुरिजममा ठूलो योगदान पु¥याएको बताए ।
संघका अध्यक्ष प्राडा. चेतनाथ पन्तले नेत्रज्योति संघले नेपालको आँखा उपचारमा ९५ प्रतिशत योगदान गरेको बताए ।