काठमाडौं, ५ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे बिहीबार अनुगमन गर्न पुगेका थिए ।
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले प्रधानमन्त्रीले पनि वैद्यखानाको उत्पादन बढोस् भन्ने चाहना रहेकाले उत्पादन बढाउने तिर लाग्न आग्रह गरे। तर सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक डा. प्रदीप केसीले यदि सिंहदरबार बैद्यलाई सुधार गर्ने हो भने पाँचबुँदे समस्याको समाधान हुनुपर्ने शर्त राखे ।
काम कारबाहीबारे जानकारी लिंदै आम रुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराए। पर्याप्त औषधि उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे।
मन्त्री पौडेलको अनुगमनका क्रममा वैद्यखानाका निर्देशक डा प्रदीप केसीले वैद्यखानाका विषयमा जानकारी दिएका थिए। तर अनुगमनबाट फर्किएको केही समयपछि निर्देशक डा केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच बुँदे समस्या सार्वजनिक गरे। उनले ती समस्या समाधान नहुँदासम्म कुनै उत्पादन गर्न नसक्ने जानकारी पनि दिएका छन्।
हेर्नुहोस डा केसीको ५ बुँदे जवाफ
१. यो वैद्यखानालाई विकास समितिले नै सञ्चालन गर्ने हो भने २०७७ साल अघिकै समिति गठनादेश ब्युँताएर ४ वर्षे कार्यकाल सहितको प्रबन्ध निर्देशकलाई राजनैतिक नियुक्ति मन्त्रिपरिषदबाट गर्नुपर्छ ।
२. यदि नेपाल सरकारले सञ्चालन गर्ने हो भने २०५२ साल अघि समिति गठन हुनुपूर्वको जस्तो आयुर्वेद विभाग मातहतमा राखेर २०७० सालसम्म स्वीकृत रहेका नेपाल सरकारका दरबन्दीमा थपघट गरी स्थायी संरचना अनुसार चलाउनु पर्छ।
३. अहिलेको गठनादेशले व्यवस्था गरेको कार्यकारी निर्देशकको प्रावधान राख्नु हुँदैन भनेर २०७७ सालमै सुझाव दिएको हो। यो व्यवस्थाले यदि कसैलाई फाइदा गर्यो भने त्यो केवल आयुर्वेद समूहका केही ९/१०औ तहका कर्मचारीलाई मात्र गर्यो होला तर संस्था भने झनै टाट पल्टियो। १ जना मात्र प्रबन्ध निर्देशक हुने समयावधिमा यसले १२ जना कार्यकारी निर्देशक पाइसकेको छ जसमा म स्वयं पनि आफ्नो ईच्छा विपरीत २ पटक सामेल भई सकेको छु। (ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ?)
४. पद र दरबन्दी नभएको कार्यालयमा कुनैपनि कर्मचारी (व्यक्तिगत स्वार्थ र अनुचित लाभ जोडिएको अवस्थामा बाहेक) काम गर्न जान मान्दैन । लोकसेवा आयोगले स्वीकृत दरबन्दीमा मात्र कर्मचारीलाई स्थायी नियुक्तिको शिफारिस गर्छ। बैद्यखानामा हाल न कुनै स्थायी दरबन्दी छ न त कुनै पद र पदनाम। यस्तो अवस्थामा ११औ तहको कुनै पनि कर्मचारीलाई उसको पद र दरबन्दी अन्यत्र राखी बैद्यखानामा बलजफ्ति कामकाज गर्न जानू भनेर मन्त्री स्तरीय निर्णय गर्ने र उसको दरबन्दी रहेको कार्यालयमा कनिष्ठलाई निमित्त प्रमुख बनाउने निर्णय कुनै पनि कोणबाट जायज हुदैन होला। वैद्यखानालाई ११औ तहको कार्यकारी कर्मचारी चाहिएको हो भने सोको लागि विज्ञता, कार्यविवरण, योग्यतासहित पद र दरबन्दी सृजना गर्नुपर्छ।
५. वैद्यखानामा कच्चापदार्थ आपूर्ति गर्ने ठेकेदारसँग साँठगाँठ गर्ने, उत्पादन प्रणाली ध्वस्त बनाई निजी कम्पनीलाई सहयोग गर्ने, संस्था टाट पल्टने तर आफ्नो लागि रोटि तताइरहने लगायतका कार्यालय विरूद्धका गतिविधि गर्ने जो सुकै कर्मचारी किन नहुन् ठाउँको ठाउँ कारबाही गरौं। यो काम गर्ने आट र ताकत अहिलेको समितिसँग छ त ?