काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न राष्ट्रियसभाका सदस्यहरुले माग गरेका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा उनीहरुले तेस्रो लहरको कोरोनाको उपचारका लागि स्वास्थ्य संस्थामा तयारी गर्ने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद तारादेवी भट्टले राष्ट्रिय गौरवका आयोनामा काम गर्ने श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था गर्न माग गर्नुभयो ।सांसद पर्शुराम मेघी गुरुङले कार्यसम्पादन मूल्याङ्कनमा कुनै कर्मचारी फेल नभएको उल्लेख गर्दै सेवा प्रवाह चुस्त हुन नसकेको बताउनुभयो ।
उहाँले विसं २१०० सम्म मुलुकलाई समृद्ध देशका रुपमा अघि बढाउने १५ औँ योजनाको लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रामनारायण विडारीले संसद् विघटन गरेर अध्यादेशमार्फत संसदीय सुनुवाइ नगरी संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिएको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको अवस्थामा सुरुवाईको अवस्थाका बारेमा जानकारी माग गर्नुभएको थियो । त्यस्तै प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ सभामा पेश गर्नुभयो ।
बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोक सेवा आयोग विधेयक, २०७५’ सभा समक्ष टेबुल गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते आइतबार अपराह्न १ बजे बोलाइएको छ ।