काठमाडौँ, ९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगञ्जस्थित भेरी अस्पतालले उत्कृष्ट स्वास्थ्य सेवा दिएको बताउनुभयो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री गिरीले आफूले भेरी अस्पतालको सेवा बुझ्न जाँदा श्रोत र साधनले भ्याएसम्म उत्कृष्ट स्वास्थ्य सेवा दिएको बताउनुभयो । वास्तवमा म भेरी अस्पतालको सेवा देखि सन्तुष्ट भए, सबै सरकारी अस्पतालले त्यसैगरी सेवा दिन सके सरकारी अस्पताल सुधार गर्न धेरै नलाग्ने उहाँको भनाई छ ।
जनशक्ति, उपकरण, भौतिक संरचनाले साथ दिएसम्म भेरी अस्पतालले धेरै राम्रो स्वास्थ्य सेवा दिएको उहाँको भनाई छ ।
उहाँले भेरी अस्पताल व्यवस्थापनले राम्रो काम गरेको बताउनुभयो । अस्पतालभित्रको क्यान्टिनमा ४० रुपैँयामा खाना पाइने र त्यहाँको खाना हाइजेनिक रहेको गिरीको भनाई छ । अब भेरी अस्पतालका व्यवस्थापकले अस्पताललाई डिजिटलाईजेसनमा लान लाग्नुभएको रहेछ,मन्त्री गिरीले थप्नुभयो,“वास्तवमै भन्नुपर्दा भेरी अस्पतालले दिएको स्वास्थ्य सेवा उत्कृष्ट रहेको छ ।”