काठमाडौँ । स्वास्थ्य पत्रकारहरुका लागि ‘जोखिम सञ्चार’ र स्वास्थ्य रिर्पोटिङ्ग सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ, युएसआईडी,सुहारा नेपाल तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले संयुक्त रुपमा आयोजना गरेको तालिममा २२ जना स्वास्थ्य विधामा लेख्ने पत्रकारहरु सहभागी भएका थिए ।
स्वास्थ्य पत्रकारहरुलाई वरिष्ठ पत्रकार मोहन मैनाली,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारी, सुहारा नेपालका सञ्चार प्रमुख इन्द्रध्वज क्षेत्री, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्दका निर्देशक सुनिलराज शर्मा, केन्द्रकै वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.भक्तबहादुर केसी र शालिक धिताल, पोषण शाखा प्रमुख लिला थापा,परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेक कुमार लाल र काभ्रे स्वास्थ्य प्रमुख पुरुषोत्तम सेढाइ लगायतले तालिम दिनुभएको थियो ।
तालिममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता समिर कुमार अधिकारीले जोखिम प्रति विज्ञ र आम मानिसको धारणा एउटै नहुने बताउनुभयो । उहाँले शंकाको भरमा समाचार सम्प्रेषण गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो “असहज परिस्थिति गराउन सक्ने कारण नै जोखिम हो जोखिमका समयमा तत्काल सूचना सम्प्रेषण गर्दा जोखिम मोल्नुपर्छ ”। जोखिम सञ्चार नभएमा गलत सूचना प्रवाह, निर्णय गर्नमा ढिलाई, सूचना आदान प्रदानमा अवरोध र कमजोर तथ्यांक प्राप्त भई आपतकालमा उपयुक्त सेवा छनोट हुन नसक्ने जानकारी दिनुभयो ।
तालिमका मुख्य प्रशिक्षक मोहन मैनालीले जोखिम संचारमा पत्रकारको भुमिकाका बारेमा प्रष्ट पार्नुभएको थियो ।
पोषण शाखा प्रमुख लिला थापाले विश्वभर १७ करोड भन्दा बढि बालबालिका कुपोषित भएको जानकारी दिनुभयो ।
कार्यक्रमा परिवार कल्याण महाशाखा निर्देशक डा विवेक कुमार लालले खोपबारे प्रस्तुति दिनुभएको थियो । उहाँले रोग लाग्नुभन्दा अगाडि रोग नै नलागोस भनेर दिइने जैविक उत्पादन खोप भनिने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जोखिम पत्रकारिताको विषयमा प्रष्ट्याउनुभएको थियो ।
महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले स्वास्थ्य पत्रकारिता अरु भन्दा प्राविधिक भएकोले जटिल रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य,शिक्षा,सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्मा र पत्रकार महासंघका सदस्य रामकृष्ण अधिकारीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।