काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालले गरेको जीन सिक्वेन्सिङ क्रममा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा पुष्टि गरेको छैन ।
हाल धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङको नमुनालाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याएर पुनः जिन सिक्वेन्सिङ गरिदैछ । उक्त जिन सिक्वेन्सिङको रिपोर्ट सोमबार बेलुका या मंगलबारसम्म आउने छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलाका सूचना अधिकारी राजेशकुमार गुप्ताले ढिलोमा मंगलबार बिहानसम्म उक्त रिपोर्ट आइसक्ने बताउनुभयो ।
यता धुलिखेल अस्पतालका प्रयोगशाला प्रमुख डा.राजिव श्रेष्ठले ओमिक्रोनको नयाँ प्रजाति पुष्टि भएको जानकारी दिदै आधिकारिक पुष्टि भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने बताउनुभयो ।