राजविराज । स्वास्थ्य संस्था बन्द गराएर नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउका लागि सोमबार पालिकाभरि सार्वजनिक बिदा दिइएको छ ।
सप्तरीको रुपनी गाउँपालिकाले स्वास्थ्य संस्था बन्द गराएर विजय उत्सव मनाउन पालिकामा सार्वजनिक विदा दिएको हो ।
रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दकुमार चौधरीले सोमबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो । उत्सव मनाउन स्वास्थ्य संस्थादेखि सरकारी कार्यालय,शिक्षण सस्था तथा स्वास्थ्य संस्थालाई बन्द भएका छन् ।
चौधरीले विज्ञप्ती जारी गर्दै विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशानुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यालयहरूमा आज मिति २०७९ जेठ ९ गते सोमबारका दिन सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ‚’ अधिकृत चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
आइतबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रुपनी गाउँपालिकाको अध्यक्षमा लोसपाका दिनेशकुमार यादव र उपाध्यक्षमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका थिए ।
