काठमाडौ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दशौं वर्षिकोत्सव मनाएको छ ।
मानिसको अंग प्रत्यारोपण गर्ने उद्देस्यले १० वर्ष अगाडी सरकारको लगानीमा स्थापना भएको केन्द्रले सुरुमा मिर्गौला प्रत्यारोपण गरेको थियो ।
स्थापनाको केही वर्षपछि केन्द्रले कलेजो प्रत्यारोपण समेत सुरु गरिसकेको छ । प्रत्यारोपण केन्द्रको सुरुवातदेखि नै वरिष्ठ प्रत्यारोपणविद डा. पुकारचन्द्र श्रेष्ठले नेतृत्व लिनुभएको थियो ।
डा.पुकारको नेतृत्वमा केन्द्रमा हालसम्म ८४० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपणलाई अझै बढाउँदै लैजाने बताउनुभयो । उहाँले प्रत्यारोपणको लागि पालो कुरेको दुईवर्ष भित्र मात्र पालो आउने भन्दै जनशक्ति र भौतिक संरचनाको विकास भएको खण्डमा दैनिक तीनचारजना व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न सकिने बताउनुभयो । उहाँले प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउन सके धेरै ठूलो फाईदा पुग्ने बताउनुभयो ।
उहाँले सिमित व्यक्तिले मात्रै अंगदान गर्ने व्यवस्था भएको कारण समस्या भएको बताउनुभयो ।
‘मिर्गौला प्रत्यारोपण वार्षिक रुपमा दुई सय जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको भन्दै उहाँले यो माग वार्षिक तीनहजारसम्मको रहेको बताउनुभयो ।
केन्द्रले ६ वर्षदेखि हप्तामा ६ देखि ८ जनाको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ । अहिलेको अवस्थामा सबै बिरामीको मिर्गौला प्रत्यारोपण गर्न र सहज सुविधा दिनका लागि ७ वटै प्रदेशमा कम्तिमा पनि १ वटा प्रत्यारोपण केन्द्र आवश्यक पर्ने बताउनुभयो । ‘मुटु, मिर्गौला र कलेजो तीन वटैको विशिष्टीकृत सेवा दिने एकमात्र केन्द्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मात्र रहेको भन्दै उहाँले वि.सं. २०७२ मंसिरमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु भएको बताउनुभयो । हालसम्म केन्द्रले ८ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।
प्रतिष्ठानको लागि सहयोग रहन्छः राज्यमन्त्री खापुङ
स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ । उहाँले केन्द्रको दशौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रतिष्ठान स्थापना भए प्रत्यारोपण क्षेत्रमा थप परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
खापुङले सात वटै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापनाका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । स्वास्थ्यलाई मौलिक हकमा स्वास्थ्य भएको हुँदा सरकार त्यसमा दत्तचित्त रहेको भन्दै अंगदान मृत्युपछि दिने विषय भएकाले अंगदान गर्नेहरुको रेकर्ड राख्नुपर्ने बताउनुभयो ।
प्रत्यारोपणका लागि केन्द्रले खेलेको भूमिका उत्कृष्ट भएको भन्दैं प्रशंशा गर्नुभयो ।
स्वास्थ्य सचिव देवकुमारी गुरागाईले सात वटै प्रदेशमा हृदय रोग केन्द्र र मानव अंग प्रत्यारोपण केन्द्रको विस्तारमा सरकारसँग बजेटेको अभाव नहुने बताउनुभयो । उहाँले हाल केन्द्र रहेको स्थान साँघुरो भएकोले अर्को ठाउँमा विस्तार गर्नुपर्ने बताउनुभयो ।