काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२१ देखि २०२६ सम्म पञ्च बर्षिय रणनीतिक योजनामा एचआइभी सङ्क्रमणलाई नियन्त्रण गर्ने लक्ष्य लिइएको छ ।
योजनाको आज मन्त्रालयका सचिवद्धय डा. रोशन पोखरेल र देवकुमारी गुरागाईंले सयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
सचिव गुरागाईले एचआइभी दिगो विकास लक्ष्यमा पुग्नका लागि एचआइभी सङ्क्रमण नियन्त्रण गर्न योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले नेपाल सरकारल एचआइभी नियन्त्रण गर्न लागि परेको र यसमा दातृनिकायको पनि सहयोग आवश्यक भएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले एचआइभी सङ्क्रमितको समाजले हेर्ने व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
यस्त स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले रणनीतिक योजनाले एचआइभी नियन्त्रण गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले एचआइभी रोग स्वास्थ्य रोग मात्र नभएर समाजिक रोग भएकोले सवैको सहयोगबाट नियन्त्रण गर्न सकिने बताउनुभयो ।
केन्द्रका निर्देशक डा. संजयकुमार ठाकुरले अहिलेको रणनीतिक योजना यसअघिको रणनीतिक योजनाले सन् २०१६ देखि २०२१ कै निरन्तरता रहेको भन्दै सन् २०३० सम्म एचआइभी÷एड्सको अन्त्य गर्ने लक्ष्य हासिल गर्ने सहयोगि बन्ने बताउनुभयो ।
उहाँले रणीतिक योजना अनुसार सन् सन् २०२६ सम्म एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा एचआइभीको अवस्था पहिचान गर्ने, ९५ प्रतिशतलाई उपचारको व्यवस्था गर्ने र ९५ प्रतिशत सङ्क्रमितमा भाइरसको भार न्यूनकरण गर्ने बताउनुभयो । उहाँले यस रणनीतिक योजनाले नयाँ एचआइभी सङ्क्रमण र एड्सबाट हुने मृत्युदरम कमि ल्याउँदै एचआइभी सङ्क्रमितको स्वास्थ्य र समग्र अवस्थाको सुधार ल्याउने बताउनुभयो ।
योजनामा नयाँ एचआइभी सङ्क्रमणलाई ९० प्रतिशतले कम गर्ने, आमाबाट बच्चामा एचआइभी सङ्क्रमण उन्मुलन गर्ने, जन्मजात भिरङ्गीको केस दरप्रति लाख जिवित जन्ममा ५० वा सोभन्दा कम गर्ने लक्ष्य राखिएको छ ।
यस्तै योजनामा एचआइभी सङ्क्रमित व्यक्तिको स्वास्थ्य सम्बन्धि परिमाणमा सुधार ल्याउने, एचआइभी सङक्रमित तथा मुख्य समूहमा एचआइभी सम्बन्धित असमानतामा कमि ल्याउने उल्लेख छ ।
यस्तै १५ देखि २४ बर्ष उमेर समूहका युवामा एचआइभी व्याप्तता दर ०.०२० प्रतिशत ल्याउने तथा प्रति एक हजार जनसङ्ख्यामा एचआइभी सङ्क्रमण ०.०२० प्रतिशत ल्याउने लक्ष्य रहेको छ । अहिले १५ देखि ४० बर्ष उमेरसमूहमा एचआइभी व्याप्तता दर ०.१३ प्र्रतिशत रहेको छ ।
नेपालमा सूईद्वारा लागु औषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा महिला र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रो लिङगी, आप्रवासी कामदार र कैदीबन्दी एचआइभी सङ्क्रमणको उच्च जोखिममा छन् ।
यस्तै अहिले नयाँ सङ्क्रमण दर प्रवासीमा २५ प्रतिशत, पुरुषसंग यौन सम्पर्क गर्ने पुरुष, ट्रान्सजेण्डर व्यक्तिमा १९ प्रतिशत छ । यस्तै महिला यौनकर्मीमा ९ प्रतिशत, पुरुष यौनकर्मीमा ८ प्रतिशत र सूईबाट लागु पदार्थ लिने व्यक्तिमा दुई प्रतिशत रहेको छ । नेपालमा अहिलेसम् ३७ हजार ५९६ जना सङ्क्रमित रहेका छन् ।
सरकारले सन् २०३० को अन्त्यसँगै एचआइभी तथा एड्सको महामारीको पनि अन्त्य गर्ने लक्ष्य लिएको छ ।