नाम टिपाउनका लागि ०१ ५९७००४७ र ९८०१०४७६०७ मा सम्पर्क गर्नुपर्ने
काठमाडौं । ललितपुरस्थित कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी भएका बिरामीका लागि निशुल्क शल्यक्रिया शिविर आयोजना गर्ने भएको छ ।
खड्गी इन्स्टिच्युटले आरुस लाइफस्टाइल, नेपाल र रेड क्रसेन्ट अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी भएका बिरामीका लागि निशुल्क शल्यक्रिया शिविर आयोजना गर्न लागेको हो ।

इन्स्टिच्युटका मेडिकल डाइरेक्टर तथा वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा सन्जय खड्गीले नेपालका दुरदराजमा रहेका विपन्न वर्गका बिरामीले पनि मिर्गौलाको पत्थरी शल्यक्रिया गरी सहज जीवनयापन गर्न सकुन भन्ने उद्धेस्यका साथ खड्गी इन्स्टिच्युटले निशुल्क शिविरको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
नेपालमा आर्थिक अभावकै कारण धेरै व्यक्तिहरुले शल्यक्रिया गर्न नसक्दा अन्तत मिर्गौला फेल हुनेसम्मको अवस्थामा पुग्ने गरेका छन् । निशुल्क शल्यक्रिया शिविरमा एकैपटक ४० जना बिरामीको शल्यक्रिया गर्न लागिएको हो ।
इन्स्टिच्युटका मेडिकल डाइरेक्टर तथा वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा सन्जय खड्गीले निशुल्क शल्यक्रिया शिविरमा ३० देखि ४० जना बिरामीको मिनि पीसीएनएल नामक उच्च प्रविधि मार्फत शल्यक्रिया गरिने छ ।
यस्तै बिना ठूलो चिरफार र दुखाइरहित शल्यक्रिया गरिने हुँदा बिरामीको अस्पताल बसाइ पनि कम हुने डा खड्गीको भनाई छ । अझ यस शल्यक्रियामा बिरामीका लागि औषधी, परामर्श तथा शैयासमेत निशुल्क प्राप्त हुनेछ ।
खड्गीले विपन्न वर्गका बिरामीका लागि अत्याधुनिक पीसीएनएल प्रविधिको माध्यमबाट निशुल्क शल्यक्रिया शिविर नेपालमै पहिलोपटक गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कसैलाई मिर्गौला पत्थरीको समस्या छ भने यही फागुण ४ गतेदेखि १५ गतेभित्र खड्गी इन्स्टिच्युटमा सम्पर्क गर्न सक्नेछन।
शल्यक्रिया यही फागुण १८, १९ र २० गते हुनेछ ।
नाम टिपाउनका लागि इन्स्टिच्युटको फोन नं ०१ ५९७००४७ तथा ९८०१०४७६०७ मा सम्पर्क गर्न सकिन्छ ।