काठमाडौं । नेपाल औषधि लिमिटेडले थप १३ वटा औषधि उत्पादन गर्ने तयारी गरेको छ। लिमिटेडले विभिन्न संक्रमणमा प्रयोग हुने एन्टीबायोटिक, गर्भवती र बच्चालाई स्तनपान गराउँदा रगतको कमीबाट हुने रोगबाट बचाउने औषधि लगायत थप १३ वटा औषधि उत्पादन गर्ने तयारी गरेको हो।
उत्पादन अनुमतिका लागि करिब ६ महिना अघि औषधि व्यवस्था विभागमा फाइल पठाइएको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताए। विभागले अनुमति दिएको एक महिनामा औषधि उत्पादन सुरु गरिने उनले बताए।
सिटामोल बनाउने मेसिनको प्रयोगबाटै विभिन्न औषधि उत्पादन गर्न सकिने उनले बताए।
हाल नेपाल औषधि लिमिटेडले सिटामोल, सिटामोल प्लस, जीवनजल र ग्लीसिरिन गरी पाँच वटा उत्पादन गर्दै आएको छ। हाल दुई दिनमा तीन ब्याज सिटामोल र दैनिक तीन ब्याजसम्म जीवनजल उत्पादन गरिरहेका छ। सिटामोल एक ब्याजमा ३ लाख २० हजार र जीवनजल एक ब्याजमा १२ हजार प्याकेट जीवनजल उत्पादन हुने गर्छ।
सरकारले निशुल्क उपलब्ध गराउन ७१ प्रकारको औषधि उत्पादन गर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको महाप्रबन्धक सफिउल्लाहले बताए। थप औषधि उत्पादन अनुमतिका विषयमा बुधबार औषधि व्यवस्था विभाग र नेपाल औषधि लिमिटेड बीच छलफल समेत भएको छ।
विभागका वरिष्ठ औषधि प्रशासक सन्तोष केसीले नेपाल औषधि लिमिटेडलाई अनुमति दिने विषयमा छलफल भइरहेको बताए। लिमिटेडले नयाँ उत्पादन गर्न लागेको र विश्व स्वास्थ्य संगठन डब्लुएचओ को जीएमपी अनुसार केही सुधार गर्नुपर्ने भएकाले यिनै विषयमा छलफल भइरहेको बताए।
उनले भने, ‘उहाँहरुले केही नयाँ औषधिहरु पनि उत्पादन गर्न लाग्नु भएको छ। केही पक्ष सुधार गर्नुपर्ने पनि देखिएको छ। त्यसैले यस विषयमा छलफल हुँदैछ।’
नेपाल औषधि लिमिटेडले उत्पादन गर्न लागेका औषधिहरु
१. एजिथ्रोमाइसिन २५० एमजी (ट्याबलेट)
२. एजिथ्रोमाइसिन ५०० एमजी (ट्याबलेट)
३. सिप्रोफ्लक्सासीन २५० एमजी (ट्याबलेट)
४. सिप्रोफ्लक्सासीन ५०० एमजी (ट्याबलेट)
५. मेट्रोनिडाजोल २०० एमजी (ट्याबलेट)
६. मेट्रोनिडाजोल ४०० एमजी (ट्याबलेट)
७. मेट्रोनिडाजोल प्लस डिलोक्सनाइन (ट्याबलेट)
८. अल्बेन्डाजोल ४०० एमजी (ट्याबलेट)
९. ट्याबलेट फोलिक एसिड ०.४ एमजी
१०. ट्याबलेट आइरन प्लस फोलिक एसिड
११. हेमोलायलासिस ए
१२. हेमोलायलासिस बी
१३. ट्याबलेट सेट्रिजेन