• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौं महानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता, ९ महत्त्वपूर्ण कार्यक्रम घोषणा

    काठमाडौं महानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता, ९ महत्त्वपूर्ण कार्यक्रम घोषणा

    सोमबार, असार १ २०८३
    सोमबार, असार १ २०८३
    काठमाडौं महानगरको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता, ९ महत्त्वपूर्ण कार्यक्रम घोषणा

    काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ। 

    महानगरपालिकाको नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नागरिकलाई सहज, गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो।

    उहाँका अनुसार महानगरले दीर्घकालीन सोच, उद्देश्य तथा योजनालाई निरन्तरता दिँदै चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुन नसकेका बहुवर्षीय कार्यक्रमलाई समेत आगामी वर्षको योजनामा समेटेको छ। ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक पूर्वाधार र आधुनिक सहरी जीवनशैलीलाई आधार बनाएर तयार गरिएको नीति तथा कार्यक्रममा ११ वटा प्रमुख क्षेत्र समेटिएका छन्।

    कुल १०१ बुँदे नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। महानगरले शहरी स्वास्थ्य सेवा सुदृढीकरणदेखि मानसिक स्वास्थ्य, मातृ–शिशु स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा आपत्कालीन स्वास्थ्य सेवासम्मका कार्यक्रम अघि बढाउने जनाएको छ।

    नीति तथा कार्यक्रमअनुसार महानगरभित्र सञ्चालनमा रहेका शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता अभिवृद्धि गरी समयसापेक्ष, आधुनिक तथा प्रविधिमैत्री स्वास्थ्य सेवा सञ्चालन गरिनेछ। साथै आयुर्वेद, योग, व्यायाम, प्राणायाम, ध्यान तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रवर्द्धनमार्फत स्वस्थ जीवनशैली अपनाउन नागरिकलाई प्रोत्साहन गरिने नीति लिइएको छ।

    महानगरले हाल सञ्चालनमा रहेको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै साँघुरा सडक र बढ्दो सवारी चापलाई ध्यानमा राखेर बाइक एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याउने घोषणा गरेको छ। यसबाट आकस्मिक बिरामीलाई छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    मिर्गौला रोगीका लागि डायलसिस सेवा थप सहज बनाउने तथा मातृ–शिशु एवं प्रजनन स्वास्थ्यसँग सम्बन्धित विशेष कार्यक्रम सञ्चालन गरिने नीति पनि सार्वजनिक गरिएको छ। सार्वजनिक स्थानहरूमा स्तनपान तथा शिशु स्याहारका लागि  ‘ब्रेस्ट फिडिङ एन्ड केयर ब्लक्स’ व्यवस्थापन गरिने उल्लेख गरिएको छ।

    महानगर क्षेत्रभित्र रहेका अस्पताल तथा स्वास्थ्य संस्थाको नियमित अनुगमन र नियमन गरी गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ। साथै विपन्न तथा असहाय नागरिकलाई अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क उपचार सेवा कडाइका साथ कार्यान्वयन गरिने नीति लिइएको छ।

    स्वास्थ्य पूर्वाधार विस्तारअन्तर्गत महानगरवासीलाई गुणस्तरीय तथा विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन महानगर अस्पताल निर्माण गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

    बदलिँदो जीवनशैलीसँगै बढ्दै गएका मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मनोपरामर्श सेवा तथा मानसिक स्वास्थ्य सहायता कल सेन्टर सञ्चालनमा ल्याइने भएको छ। यसले मानसिक स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

    त्यसैगरी ज्येष्ठ नागरिकहरूका लागि निमोनिया विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिनेछ। महानगरवासीको नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वास्थ्य सेवा तथा आवश्यकताअनुसार आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गर्ने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

    महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमा पुर्‍याउने, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने तथा आधुनिक र समावेशी स्वास्थ्य प्रणाली विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार