भरतपुर, २६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षण गरेका छन्।
अस्पतालको निरीक्षणपछि उनले अस्पतालमा आएका बिरामी निजीमा अस्पताल पठाए कारवाही गर्ने चेतावनी समेत दिएका हुन्।
उनले भने “अस्पतालमा आएका बिरामीहरु बाहिर पठाउन पाईदैन र त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारवाही हुन्छ।” उनले प्रश्न गर्दै भने “यो भन्दा राम्रो सेवा सुबिधा भएको अस्पताल अरु कुन हुन सक्छ ? यहाँबाट बिरामी बाहिर पठाउने काम बन्द हुनुपर्छ। बिरामी बाहिर पठाएको पाईए कारवाहीको भागीदार बन्नु पर्ने छ।”
अस्पताल आएका बिरामी को कहाँ कती रिफर भए के कारणले भए भन्ने विवरण मासिक रुपमा मन्त्रलयलाई पठाउन मन्त्री बस्नेतले निर्देशन पनि दिए।
मन्त्री बस्नेतसँगै अस्पताल पुगेका बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भनसुनको आधारमा उपचार नभई सबैलाई एउटै तवरले व्यवहार गर्न सुझाए।
मन्त्री बस्नेत र जोशीले अस्पतालका विभिन्न वार्डहरुको निरीक्षण गर्ने क्रममा बिरामीहरुले अस्पतालमा पर्याप्त उपकरण र जनशक्ति नहुँदा निजी अस्पताल जानु पर्ने, लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको गुनासो मन्त्रीसमक्ष गरेका थिए। कतिपय बिरामीले चिकित्सकले निजी अस्पताल जान दवाव दिने गरेको गुनासो गरेका थिए।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा दैनिक १ हजार एक सय हाराहारी बिरामी बहिरंग सेवामा आउने गरेको जानकारी दिदै भने। “अस्पतालमा आएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा यही दिने गरी हामीले काम अघि बढाएका छौ।”
त्यसैगरी अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले लामो समयदेखि अस्पतालमा कार्यकारी निर्देशक नहुँदा समस्या परेको र त्यसबाट उत्पन्न समस्याहरु समाधान हुँदै गएको बताए।
आजै मन्त्री बस्नेतले भरतपुर अस्पतालको आकस्मिक निरीक्षण गर्दै नयाँ आईसियू तथा सिसियू र पिआईसियूको उद्घाटन गरेका थिए।