राजविराज, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार रामराजाप्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठानको भर्चुयल माध्यमबाट शिलान्यास गर्नुभएको छ ।
सप्तरीको राजविराज नगरपालिका वार्ड नम्बर १० बिरौल स्थित खाँडो नदी किनारमा उक्त प्रतिष्ठानको उहाँले शिलान्यास गर्नुभएको हो । एक प्रदेश एक प्रतिष्ठान निर्माण गर्ने लक्ष्य अनुसार शिलान्यास गर्दै प्रम ओलीले लामो समयको प्रयास र प्रतिक्षापछि आज प्रतिष्ठानको निर्माण कार्यको शुभारम्भ गरेको बताउनुभयो । प्रतिष्ठान निर्माणले प्रदेश २ का सप्तरीसहित सम्पूर्ण जिल्ला, छिमेकी जिल्ला तथा भारतीय नागरिकहरु स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका पूर्वाधार तयारी विकास समितिका निर्देशक तथा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले शिलान्यासको भूमि पुजनपछि आयोजित शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले भन्नुभयो, हामीले भवनको शिलान्यास गरेका छौं, हाम्रो सपना छिटै नै व्यवहारिक रुपमा देखिन्छ । शिलान्यास भएपछि सपना पूरा भएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानको निर्माणले देखिने गरी, लाभ हुने गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास दिलाउनुभयो । सप्तरीमा बनेको कुनै पनि संरचनाभन्दा स्तरीय, भूकम्प प्रतिरोधात्मक, बलिया र आकर्षक हुने उहाँले भन्नुभयो, बाहिरी पक्षमा आकर्षण मात्र होइन, आन्तरिक हिसाबले सेवा पनि बलियो र आकर्षण हुनेछ ।
प्रतिष्ठानले रोजगारीको अवसरहरु सिर्जना गर्नुको साथै आर्थिक क्रियाकलाप पनि बढ्ने बताउँदै उहाँले यसले प्रविधिको विकाससँगै विकासप्रति विश्वास बढाउने बताउनुभयो ।
सप्तरी पछाडि परेको ठाउँको रुपमा होइन, विकासका हिसाबले अगाडि बढेको बताउनुभयो । रुपनी सडक, औद्योगिक क्षेत्र सञ्चालन, छिन्नमस्ता पर्यटकीय गन्तब्य क्षेत्र विकास लगायतमा काम अगााडि बढाइएको प्रम ओलीले सिंचाइ, रेल सञ्चालन, व्यवस्थापन पनि कार्य भइरहेको जानकारी दिनुभयो ।
हिमाल पहाड र तराई सबै क्षेत्रको विकास र उन्नतिको लागि काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, कुनै भ्रममा परिरहने आवश्यक छैन ।
भ्रममा परेर दिशा बिहीन भएर देशको विकास उन्नतिमा आफूलाई पछाडि पार्नुहुन्न भन्दै प्रम ओली भन्नुभयो, हाम्रो देशमा भौगोलिक, प्राकृति, सामाजिक, जैविक विविधता छन् । यो विविधताहरु भनेको सम्पन्नता, समृद्धि, सम्पदा हो । राजनीतक रुपमा फरक–फरक विचार हुनसक्छ तर, एक अर्काप्रति सहिष्णुता, सहअस्तित्वको काम र साझा समस्या समाधानमा एक भएर अगाडि बढ्नुपर्छ ।सबै मिलेर गरिबी, पछेटोपन हटाउन आ–आफ्नो ठाउँबाट सहयोग गर्न प्रम ओलीले आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवले प्रतिष्ठानको शिलान्यास गर्नु भएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिदै समयमा निर्माण सम्पन्न गराउन नगरवासीले हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानको लागि दुई कित्ताका गरी ६१ विघा छ कठ्ठा क्षेत्रफल जग्गा दर्ता भएको छ । भने यसबाट १० जिल्लाका गरी चार लाख १३ हजार ३८८ जना सेवाग्राहीहरु लाभान्वित हुने जानकारी गराइएको छ । प्रतिष्ठानको संरचना बनाउन ११ अर्ब ९८ करोड रकम खर्च हुने अनुमान गरिएको छ । यस्तै, प्रतिष्ठानको डीपीआर तयार पार्न मात्र १५ करोड रुपियाँ लाग्ने अनुमान गरिएको समितिका निर्देशक डा. झाले जानकारी दिनुभयो ।
(गोरखापत्र अनलाईन्मा धिरेन्द्र प्रसाद शाहले लेख्नुभएको समाचार)